साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जनताको बहुदलीय जनवादबारे एक अलौकिक अन्तरवार्ता             

(हुनान प्रान्तको माओको पुर्ख्यौली घर । माओ सोच मग्न अवस्थामा देखिन्छन् । घरै अगाडिको माछा पोखरीभन्दा केही पर उनलाई भेट्न आउनेहरूको ठुलो भीडलाई लाल सेनाले रोकिराखेकोले म सरासर उनीसम्म पुग्न सकेको थिइन । भीडमा फरक नश्लको मानिस देखेर होला मलाई छोडिदिन उनले लाल सेनालाई आदेश दिए । भेट्नासाथ मैले मुठ्ठी उठाएर लाल सलाम गरेँ र गर्विलो हस्त मिलन पनि । सन्चो बिसन्चोबारे सामान्य औपचारिकतापछि  नेपालको बारेमा अन्तरवार्ता सुरु भयो ।)

प्रश्न : नेपालको कम्युनिष्ट आन्दोलनको विकास क्रम सँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
​​​​​​​माओ : 
कमी कमजोरी त नभएका होइनन् तर असन्तुष्ट हुनुपर्ने कारण त खास छैन । म सम्झन्छु–नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोबर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउँदै बलियो कम्युनिष्ट पार्टीमार्फत जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । म सम्झन्छु–केही समय पनि नबित्दै विभाजित भएको नेपालको कम्युनिष्ट पार्टीले मेरो नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट सत्तरीको दशकमा फेरि बौरियो । मेरो फोटो अङ्कित राता किताब बोकेर नेपाली कम्युनिष्टहरुले देशभरि सङ्गठन निर्माण गर्न थाले । कसैले मेरो वा नौलो जनवादी क्रान्तिको आलोचना गर्‍यो भने ऊ दक्षिणपन्थी संशोधनवादी कहलिन्थ्यो । झापाली विद्रोही समूहले त कति समयसम्म मलाई अध्यक्ष माओ भनेर सम्बोधन गरिरह्यो । त्यो समूह नेकपा(माले) हुँदै नेकपा (एमाले)ले करिब दुई दशक पछि मलाई सही थान्कामा राख्यो । त्यसपछि एमालेजनहरु माओ, नौलो जनवादभन्दा बढी आफ्नो देश र क्रान्तिबारे बढी चिन्तन मनन गर्न थाले । कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि यो कार्यक्रम नेपालमा निकै लोकप्रिय बन्यो । यो कार्यक्रम लोकप्रिय हुनुमा यसको सार र रूपको राम्रो संयोजन हुन सक्नु पनि प्रमुख कारण थियो । यो कार्यक्रमका नवीन विशेषता त थिए नै, यसको रूपको संयोजन पनि उत्कृष्ट थियो । “जनता” शब्दले वर्गीयता समेटेको थियो भने “बहुदलीय” शब्दले नेपाली समाजको बहुदलवादी चरित्रलाई मात्र इङ्गित गरेको थिएन, नेपाली कम्युनिष्टहरु एकदलीय तानाशाही तरिकाले शासन सत्ता सञ्चालन गर्ने छैनन् भन्ने ईमान्दार घोषणा थियो । “जनवाद” शब्दले समाजको समग्र लोकतान्त्रिकरणको मर्मलाई बोकेको प्रष्टै बुझ्न सकिन्छ । त्यस कारण यो नेपालको मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै नौलो अभ्यास थियो ।  

म सम्झन्छु–तेस्रो सहश्राब्दीको सुरु हुनै लाग्दा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को धारले कमरेड प्रचण्डको नेतृत्वमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई मार्ग निर्देशक सिद्धान्त बनाएर मेरो नेतृत्वमा चीनमा सञ्चालन भएझैँ दीर्घकालीन जनयुद्ध मार्फत सत्ता कब्जा गर्ने र नेपालमा नौलो जनवाद लागू गर्ने बाटो तय गर्‍यो । नेपालमा दश वर्षसम्म सञ्चालित सशस्त्र विद्रोह दश वर्षसम्म चल्यो । सन २००६ मा ऐतिहासिक जनआन्दोलनको सफलतामा यसको पनि भूमिका रह्यो । तर जब कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्ने अवसर आयो, जबजकै विशेषताको अवलम्बन गर्नुपर्‍यो । सायद यही कारण हो, कुनै बेला सैद्धान्तिक रूपले विल्कुल भिन्न र कतिपय अवस्थामा शत्रु वत् सम्बन्धमा रहेका तत्कालीन एमाले र माओवादी पार्टीविच एकता सम्भव भएको थियो । माओवादीहरू माओवाद त्यागेर मदन भण्डारीले खनेको मूलबाटोमा हिँड्न तयार भएका थिए । तर त्यो कमरेड प्रचण्डको अपरिपक्व तथा महत्त्वाकाङ्क्षी सोचाइका कारण लामो समय टिक्न सकेन । केवल पदका लागि दक्षिणपन्थी प्रतिक्रियावादीसँग समेत मोलाहिजा गर्न पछि नपर्ने प्रचण्डको ’छलाङ“को कारण नेपालको कम्युनिष्ट एकताले मूर्तता पाएन ।

प्रश्न : चिनिया पुँजीवादी –जनवादी (नयाँ जनवादी) क्रान्ति र नेपाली पुँजीवादी–जनवादी क्रान्तिविच कुनै समानता देख्नुहुन्छ ?माओ :  (मुसुक्क हाँसेर) तपाईँले यो निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । चिनिया क्रान्ति र नेपाली क्रान्ति विल्कुल भिन्न समय, विश्व परिवेशमा भएका क्रान्ति हुन् । सामन्तवादको उच्छेद गर्ने र जनताको सत्ता कायम गर्ने विषयमा केही समानता रहे पनि सत्ता प्राप्ति र सञ्चालन दुवैमा धेरै भिन्नता छन् । यसमा चिनिया समाज र नेपाली समाजमा रहेका सांस्कृतिक र चेतनमजन्य भिन्नतालाई नजरअन्दाज गर्न मिल्दैन । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी जनताबाट निर्वाचित भएर सत्तामा पुग्नु, सत्ता कब्जा गर्ने ध्येयका साथ जनयुद्ध सञ्चालन गर्ने कमरेड प्रचण्ड पनि संसदीय निर्वाचनबाट मात्र सत्तामा पुग्न सक्नु नेपाली कम्युनिष्ट आन्दोलनका अनुपम विशेषता हुन् । राजनीति, नेता र सत्ताबारे नेपाली जनताको र चिनिया जनताको बुझाई पनि आनका तान फरक छ । तपाईँले नेहरु लिखित इतिहास पढ्नु भएकै होला । चीनको बारे उनले गरेको टिप्पणी यहाँ स्मरणीय छ , उनी भन्थे–चीनमा धेरै शासकले ५०० बर्ष शासन गरेका थिए । वर्तमान कम्युनिष्ट सत्ता पनि चीनमा ५००  बर्ष टिक्न सक्छ । ( हाँसेर) तर नेपाली जनतालाई चाँडो चाँडो सत्ता वा सरकार फेर्ने बानी नै परिसक्यो । दुई तिहाइ जनमत पाएको वि पी सरकार दुई बर्ष पनि टिकेन । अहिलेको के पी सरकारलाई आफ्नै पार्टीभित्रबाट र कम्युनिष्ट खेमाहरूबाटै अप्ठ्यारो पारिँदै छ । मजबुत एमाले पार्टी, जनताको उन्नत चेतना र कमरेड ओलीको निष्कलङ्क छविका कारण नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य उज्यालो देख्छु म । 

प्रश्न : कमरेड तपाईँको विचारमा नेपालले समाजवादी राज्य व्यवस्थामा पुग्न अब के–के गर्नु पर्छ ?
माओ : 
समाजवादमा पुग्न प्रशस्त राष्ट्रिय उत्पादन र स्थिर सरकार चाहिएला, देशमा विद्यमान गरिबी,बेरोजगारीको अन्त्य हुनुपर्ला, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण हुनु पर्‍यो, पार्टीले राजकीय हस्तक्षेपद्वारा गरिब र धनीको बिच विद्यमान फैसला कम गर्नुपर्‍यो । हालको दलाल पूजावादी आर्थिक प्रभुत्वको विधिवत् अन्त्य हुनुपर्‍यो, यही हो । व्यक्तिको विचार, योग्यता, क्षमता र लोकप्रियताको आधारमा पार्टी चल्ने न हो । 

प्रश्न: शक्तिशाली कम्युनिष्ट पार्टीको कुरा गर्नुभयो, एकता टिक्न नसके पनि एमाले त शक्तिशाली नै छ नि !
माओ:
कुरा त्यति सजिलो छैन । एमालेको एउटा समस्या के हो भने जति बेला पार्टीले देश सञ्चालन गर्ने अवसर पाउँछ, तब विभिन्न अनपेक्षित समस्यामा फस्छ । सानातिना कुरामा आफैँ किचलो गर्छ । तर पार्टी एकता दिगो बनाउन त वैचारिक र भावनात्मक एकताको जग मजबुत पारिनु पर्छ । विचारको मामिलामा अब नेतृत्वले विशेष ध्यान दिनु पर्छ । यो पक्षमा धेरै काम भएको देख्दिन । भागबन्डा र तेरो मेरो मै रुमलिएर पार्टी कमजोर हुन सक्नेतर्फ सबै सचेत होलान् नै । राजकीय अवसर जोगाउँदै मिति तोकिसकिएको महाधिवेशनमार्फत वैचारिक , कार्यक्रमिक र सङ्गठनात्मक रुपमा एकताबद्ध भएपछि मात्र मचाहिँ नेकपा(एमाले)लाई शक्तिशाली भएको मान्दछु । 

प्रश्न: नेकपाका अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वदायी भूमिकालाई चाहिँ कसरी हेर्नुभएको छ ?
माओ:
यो विषय  कोट्याएर मलाई अप्ठ्यारोमा नपार्नुस् । नेताको अति प्रशंसा वा विरोध गर्ने नेपाली चलनसँग म त्यति सहमत छैन । केपी ओलीको अकम्पित राष्ट्रवादी छवि,  भिजन एवं साहसको म प्रशंसक नै हु ।  कमरेड ओलीले देश र पार्टीलाई विभिन्न कठिनाइलाई सफलतापूर्वक निकास दिँदै आउनुभएको छ । कमरेड मदन भण्डारीको सच्चा उत्तराधिकारीको रुपमा उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई हाँकिरहनु भएको छ । विचार र त्यो विचारको जगमा निर्मित नेतृत्वको  लोकप्रियताको आधारमा पार्टी चल्ने न हो । व्यक्तिको विचार, योग्यता, क्षमता र लोकप्रियताको फैसलाचाहिँ महाधिवेशन र अधिवेशनमा नेकपाका सबै सदस्यले गर्ने हो……………

(माओ बोल्दै थिए । बाहिर कुकुर भुकेको आवाजले पटक्कै उनको आवाज सुनिएन । आफू बसेको काठको कुर्सी कसैले पछाडिबाट तानेजस्तो लाग्यो । म लडेँ । आखिर यो त सपना पो रहेछ । ऐँठन भएर आफू सुतेको खाटबाट लडेछु म । उठेर पसिना पुछ्दै यताउति हेरेँ । झ्यालबाट घाम छिरिसकेको रहेछ । मेरो स्टडी टेबलमा मदन भण्डारीको सङ्कलित रचना, प्रचण्ड लिखित एक्काइसौँ शताब्दीको जनवाद, माओ लिखित नौलो जनवादबारे लगायतका किताब छरपष्ट थिए । र,टेबलमाथि जननेता मदन भण्डारीको तस्बिर । मैले ठुलो सास फेरेँ । )

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १० : ४८ बजे