प्रधानमन्त्री देउवाले लाज छोप्न सम्बोधन गरे : महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन  सरकारको  लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेता बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न  प्रधानमन्त्री  देउवाले  सम्बोधनलाई उपयोग गरेको बताउनुभएको हो । अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम,अयोग्य,लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको बताउनुभएको छ ।

नेता बस्नेतले सर्वदलीय बैठकको नाउँमा छ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । उहाँले विधि,पद्धतिमा हिँड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मङ्सिरमा गर्ने निर्णय गरेबाट "यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा छैन भन्ने कुरा अझै प्रस्ट भएको बताउनुभयो ।उहाँले अग्रगमनको कुरा हाँक्ने अनि समयमै गर्नुपर्ने निर्वाचन पछि धकेल्न षडयन्त्र गर्ने ? भन्दै प्रश्न गर्नुभएको छ ।

नेता बस्नेतले ओमिक्रोन भेरियन्ट फैलिँदा सरकारले कुनै प्रभावकारी काम गर्न नसकेको र लाचार भएर बसेको बताउनुभएको छ । अर्थतन्त्रका परिसूचक ओरालो लागेर राज्य नै फेलर स्टेट घोषणा होला भन्ने अवस्थाबाट  गुज्रिरहेको बताउनुभयो । अहिले सबै दलहरूको बीचमा उच्च तहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको बताउनु भएको छ ‌।

उहाँले  वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको, जालसाजी र षडयन्त्रबाट आफ्नो अवैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको बताउनुभयो ।

नेता बस्नेतले एउटा सोझो मान्छेले आफ्नो धोतीले मुख छोपेर मैले मास्क लगाएको छु भने जस्तै प्रधानमन्त्रीको सम्बोधनले सरकारको लाज छोप्ने प्रयत्न गरेको बताउनुभएको छ । सरकारले अन्य कुनै नौटङ्की नगरीकन आगामी वैशाखमा स्थानीय निर्वाचन जतिसक्दो छिटो गर्ने र भइरहेको प्रदेशसभाको पनि निर्वाचन गरी ताजा जनमत लिएर मुलुकलाई निकास दिनु बाहेक देउवा सरकारसँग अन्य कुनै विकल्प नरहेको बताउनुभएको छ । त्योभन्दा फरक ढङ्गले अगाडि बढ्न खोज्यो भने देश विगतमा जस्तै देउवाको कार्यकालमा कहिले प्रतिगमन, कहिले शाही शासन, कहिले माओवादी आतङ्कवादबाट जनता प्रताडित हुनु पर्ने र उनकै नेतृत्वमा दुर्दशा नपर्ला भन्न सकिन्न ।

उहाँले वर्तमान सरकारले बुद्धि पुर्‍याएर प्रमुख प्रतिपक्ष दल सहित समझदारी निर्माण गरी मुलुकलाई सही दिशा दिनको लागि सरकारको तर्फबाट प्रधानमन्त्री देउवाले अग्रसरता लिनुपर्ने बताउनुहुन्छ ।  यसो गरिएन भने शेरबहादुर देउवासँगै कांग्रेस र पाँच दलीय गठबन्धन समेत समाप्त हुने दिशामा जाने निश्चित छ ।

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : १२ बजे