दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

छापा हान्न गएका प्रहरीले नै मोबाइल चोरे, भिडियो भयो भाइरल

कैलाली । कैलालीमा लागुऔषधको कारोबार भइरहेको भन्दै मोबाइल पसलमा छापा हान्न गएका प्रहरीले नै मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएको छ ।  मोबाइल चोरिरहेको भिडियो सार्वजनिक भएपछि संलग्न प्रहरीमाथि कारबाही सुरु भएको छ ।

कैलालीको धनगढीमा सुवास रावलले सञ्चालन गरिरहेको ग्लोबल मोबाइल ग्यालरीमा छापा पार्न गएका प्रहरीले मोबाइल पसलबाट दुई वटा मोबाइल चोरेका थिए ।

माघ ५ गते साँझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका विषयमा छापा हान्न पुगेको थियो ।

 सो क्रममा मोबाइल ग्यालरी सञ्चालक रावलका भाइ पर्ने दोर्णबहादुर रावलसहित तीन जनालाई प्रहरीले पक्राउ गर्दै उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

प्रहरीले मोबाइल पसलको खानतलासी लिनेक्रममा मोबाइल चोरी रहेको सिसि क्यामरामा कैद भएको भिडियोमा देख्न सकिन्छ । मोबाइल चोरीको भिडियो सार्वजनिक भएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक जना हवलदार र अर्का एक जवानलाई हिरासतमा राखी कारबाही अगाडी बढाएको छ ।

मोबाइल ग्यालरीका सञ्चालक सुवास रावलले भिडियो प्रमाणसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना बाहिरिएको हो । 

 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  १२ : ५५ बजे