मन्त्री यादवको अभिव्यक्ति प्रति राष्ट्रिय युवा सङ्घको आपत्ति

​​​​​​​काठमाडौँ – सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा सङ्घले आपत्ति जनाएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल मधेस प्रदेश कमिटीका इन्चार्ज सत्यनारायण यादवले आज एक विज्ञप्ति जारी गर्दै रौतहटको सदरमुकाम गौरमा आयोजित  एक सभामा २०७८ माघ ५ गते सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा जसपा नेतृ श्री रेणुकुमारी यादवले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको हो ।

विज्ञप्तिमा आसन्न निर्वाचनलाई प्रभावित गर्न वा हुन नदिन मनसायले प्रेरित मन्त्री यादवको अभिव्यक्तिलाई निन्दनीय बताएको छ । संविधान,ऐन,कानुन,नीति-नियम,विधि र पद्धतिको पूर्ण कार्यान्वयनका लागि जिम्मेवारी बहन गर्न तल्लीन हुनुपर्ने सङ्घीय सरकारको मन्त्री जस्तो पदमा रहेको व्यक्तिबाट अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै खुलेआम फेरि अर्को नरसंहार गराइदिने अराजक आपराधिक र हत्याहिंसा भड्काउन उद्धत मन्त्रीको अभिव्यक्ति कुनै पनि मानेमा क्षमा योग्य नरहेको विज्ञप्तिमा उल्लेख गरेको छ  ।

मन्त्री यादवको अभिव्यक्तिले सङ्घीय सरकारको प्रवृत्ति कस्तो र पात्र कस्ता छन्,अनुहार उदाङ्गो छ । बहालवाला मन्त्रीले हत्याहिंसा भड्काउन उद्धत अभिव्यक्ति मात्र दिएकी होइनन् २०६३ चैत गते गौरको नरसंहार पनि आफ्नै पार्टीले गराएको भनी स-गौरव घोषणा समेत गरेकी छिन् ।

विज्ञप्ति मार्फत राष्ट्रिय युवा सङ्घले अराजक,आपराधिक र हत्याहिंसा भड्काउन उद्धत तथा विगत गौर नरसंहारको जिम्मेवार आफ्नै पार्टीले गरेको  अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई तत्काल मन्त्री पद बाट बर्खास्त गरी पक्राउ गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : ३३ बजे