दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जनप्रतिनिधिद्वारा ३२० थान अक्सिजन सिलिन्डर जम्मा

काठमाडौँ – नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ ।

    हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो ।

    अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो । जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ ।

    भेरोसेल दोस्रो चरणको खोप शुरु

    यसैबीच कोरोनाबाट बच्न उपयोगी मानिएको चिनियाँ खोप भेरोसेलको दोस्रो चरण नगरपालिकाका दुई केन्द्रमा लगाउन शुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ । वडा नं ५ स्थित चामुण्डा उच्च मावि भवन परिसर र नेपाल मेडिकल कलेज परिसरमा बिहान १०ः०० बजेदेखि खोप शुरु गरिएको हो । जनप्रतिनिधिको उपस्थितिमा नगरपालिका स्वास्थ्य शाखा, नेपाल प्रहरी, नेपाल रेडक्रस, नगर प्रहरीको व्यवस्थापनमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी खोप सेवा शुरु गरिएको छ । 

    दोस्रो चरणको खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सुनाउनुभयो । पहिलो चरणको खोप कार्ड लिएर आउनेलाई मापदण्डअनुसार लाममा राखी खोप दिइएको छ ।
 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : २४ बजे