बजारमा सिटामोलको चरम अभाव, सरकार मूकदर्शक

काठमाडौँ – कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बेला बजारमा सिटामोलको चरम अभाव भएको छ । कोरोनाको संक्रमण बढेसँगै सिटामोलको चरम अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको हो ।

अहिले काठमाडौँको अधिकांश फार्मेसीमा सिटामोलको चरम अभाव छ भने सिटामोलको सट्टामा वैकल्पिक औषधि खान बिरामीहरु बाध्य छन्  । बजारमा सिटामोल अभाव हुँदा समेत सरकार मूकदर्शक बन्दै यस बिषयमा गम्भीर रुपमा छलफल समेत गर्न सकेको छैन  ।

कोरोना संक्रमण बढेसँगै एउटै परिवारलाई ४-५ पत्तासम्म सिटामोल चाहिने अवस्था छ तर  फार्मेसीमा सिटामोल नहुँदा खरिद गर्न आउने सबै बिरामी खाली हात फर्किनु पर्ने बाध्यता छ । सिटामोल अभाव हुँदा कोभिड पोजिटिभ भएर होम आइसोलेसनमा बस्ने बिरामीहरु सबै भन्दा धेरै मर्कामा परेका छन्  । कोरोना महामारीमा बढी प्रयोग हुने सिटामोल जस्तो सामान्य औषधिबारे सरकार गम्भीर नहुँदा  नेपालमा संक्रमणको भयावह अवस्था आउन सक्छ ।

केहि फार्मेसी सञ्चालकहरूका अनुसार सिटामोलको मूल्य बढाउन उद्योगहरूले कृत्रिम अभाव सिर्जना गरेको बताएका छन् । बीर अस्पतालको छेउमै रहेको एक फार्मेसी सञ्चालकका अनुसार उद्योगीहरुले कच्चा पदार्थ महँगो भएको बहाना बनाउदै उत्पादन घटाएर अभाव सिर्जना गरेको बताउछन् । त्यस्तै अर्का एक सञ्चालकका अनुसार केही ठुला व्यापारीहरुले सिटामोलको औषधी लुकाएर राख्दा अभाव हुनसक्ने बताएका छन्  । 

बजारमा अहिले सिटामोलको कृत्रिम अभाव हुँदा समेत अनुगमन र कारबाही गर्ने विभाग समेत मौन बसिरहेका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : ४८ बजे