साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वाग्मती प्रदेश स्तरमा मौलिक लोकबाजा प्रशिक्षण २०७८ सम्पन्न

​​​​​​​काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वाग्मती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुस १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई सातासम्म सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणका क्रममा कम्तीमा १३५ जना बढी युवाले लिम्बू जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजाबारे प्रशिक्षण लिने अवसर पाएका छन् ।

च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना र डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र ताल वादनमा भरत बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी, प्रजापति खलःसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, सांस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने—बनाउने र सुर मिलाउने  तरिका तथा पूर्वीय तथा पश्चिमेली सङ्गीतबारे प्रारम्भिक ज्ञान, मेट्रोनममा वाद्यवादन अभ्यासको सुरुवात, बाजा अनुसारको सङ्गीत संयोजन गरी त्यसैअनुसार अभ्यास, सुरताल, बोल र स्वर लिपिमा लेखन अभ्यास समेत गराइएको थियो । 

सङ्गीत संयोजनबारे जानकारी, सामूहिक वादन विधि तथा अभ्यास, व्यावसायिक वाद्यबादक बन्नका लागि हुनुपर्ने पूर्वाधारबारे ज्ञानका साथै अन्य बाजाहरूसँग सम्मिश्रण गर्ने अभ्यास तथा प्रदर्शन गरिएको थियो ।  प्रशिक्षणमा आधुनिक प्रविधि तथा रेकर्डिङबारे जानकारी वरिष्ठ सङ्गीत विज्ञहरूबाट भएको थियो । 

साङ्गीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिएको सम्बन्धमा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले जानकारी गराउनु भयो ।

यसै अवसरमा पुस ३० गते राष्ट्रिय नाचघर, जमलमा साङ्गीतिक प्रस्तुतिसहित प्रशिक्षण कार्यक्रम समापनसमेत आयोजना गरियो । कार्यक्रममा प्रशिक्षार्थीहरूले प्रशिक्षणका क्रममा सिकेका आ–आफ्ना विधाहरू आकर्षक रूपमा प्रस्तुत गर्नु भएको थियो । प्रस्तुति हेरिसकेपछि सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोक संस्कृतिको दस्ताबेज तयार गर्न राज्य पक्ष पछि परेको बताउनु भयो । उहाँले देश जत्तिकै संस्कृति महत्त्वपूर्ण रहने चर्चा गर्नु भयो । यस क्रममा वहाँले ‘संस्कृति खरानी भए हामी बाँकी रहँदैनौँ’ भन्नुभयो । कार्यक्रममा संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले युवा पुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचना प्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले नेपाली लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताउनु भयो । 

प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ अशोक राईले मौलिक लोकबाजालाई मूलधारको व्यावसायिक सङ्गीतसँग जोड्न, लोक सङ्गीतको स्वर लिपि तयार गरी त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादहरू तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा माघको दोस्रो साताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी गराइएको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  २ : ४६ बजे