‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नागरिकको मनस्थिति र देशको परिस्थिति 

इतिहासको समीक्षा गर्दै जाउँ तर इतिहास मेटाउने काम नगरौँ । इतिहास देशको सम्पत्ति हो । इतिहासका सबै पक्ष स्वागतयोग्य नहोला, त्यो बेग्लै कुरा । शाह वंशीय राजतन्त्र नेपालको साँचो इतिहास हो । शाह वंशीय इतिहासको आफ्नै पृष्ठभूमि र महत्त्व छ । गणतान्त्रिक राजनीतिक प्रणाली अपनाइयो भन्दैमा यो देशमा राजतन्त्र थियो भन्ने कुरा इतिहासबाट मेटाउन सकिन्न । तर केही राजनीतिक नेतृत्वले राजतन्त्रको इतिहास स्विकार्न सकिरहेका छैनन् । किनभने उनीहरूमाथि त्यसो गर्न बाह्य पक्षको दबाबसहित लगानी पनि भइरहेको छ । त्यसैले त उनीहरूले पृथ्वी जयन्तीलाई बहिष्कार र विरोध गर्ने गरेका छन् ।

पृथ्वीनारायण शाह नेपाल एकीकरणका नायक, नेपालको शान, सामर्थ्य र एकताको स्रोतसँगै नेपाली स्वाभिमान जगाउने आधार हुन् ।  उनको त्यो त्याग र योगदानलाई उनका खराब सन्ततिहरूसँग दाँजेर इतिहासप्रति अन्याय गर्नुहुँदैन । पृथ्वीनारायण शाहको अपमान गर्नु भनेको आफ्नो स्वाभिमान र परिचयप्रति घुणा गर्नु हो । अब यस्तो सोच र व्यवहारमा सुधार गर्नै पर्छ । पृथ्वीनारायण शाहको जन्मदिन अर्थात् पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन दबाब बढाऔँ । पृथ्वीनारायण शाहको त्याग र योगदानलाई सम्मान गरौँ । यसप्रति नयाँ पुस्तालाई पनि गर्व गर्न सिकाऔँ । यो आत्मबोध हामी नेपालीहरूमा हुनै पर्छ ।

पृथ्वीनारायण शाहलाई होच्याएर हामी नेपालीहरूको कद उँचो र नेपालको पहिचान व्यापक बन्दैन । उनले सिङ्गो नेपाल र नेपाली पहिचान पुनः स्थापित गरेर हामी नेपालीलाई ठुलो गुन लगाएका छन् । त्यसैले पृथ्वीनारायण शाह शाहवंशका राजा मात्र होइनन् त्योभन्दा बढी राष्ट्र नायक हुन् भन्ने सत्यलाई स्वीकार गर्नु असल नागरिकदेखि नेतृत्वको कर्तव्य हो । त्यो कर्तव्य पूरा गर्न ३००औँ पृथ्वी जयन्तीमा हामी चुक्यौँ अर्थात् राज्य चुक्यो । कसको दबाबमा पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्न सकिरहेका छैनौँ ? वस्तुनिष्ठ भएर समीक्षा गर्न गरौँ ।

अहिले पृथ्वी जयन्तीको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रलाई गलत तन्त्र भन्दै नेपालमा फेरि वंशतन्त्र ल्याउन सक्छु भन्ने ठानेर पृथ्वी जयन्तीलाई उपयोग गर्न खोजेका छन् । त्यो उनको राजनीतिक बचपना हो । किनभने नेपालमा अब वंशतन्त्र अर्थात् राजतन्त्र फर्काउनु पर्ने कुनै आधार र फर्काउन सक्ने अनुहारहरू छैनन् । बरु लोकतान्त्रिक गणतन्त्रमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै देश र जनताको हितमा अघि बढाइने छ । यसर्थ पृथ्वी जयन्तीका सन्दर्भमा ज्ञानेन्द्रले दिएका अभिव्यक्तिहरूको चर्चा र आलोचना गरेर समय बर्वाद गर्नुको कुनै अर्थ छैन ।

ज्ञानेन्द्र शाहलाई लागेको होला, पृथ्वीनारायण शाहको लोकप्रियताको आडमा फेरि राजा बन्छु र राजतन्त्रलाई नियमित गर्छु । तर आजको राजनीतिक अवस्थामा त्यो सम्भव छैन । किनभने नेपालको राजतन्त्र अनौपचारिक रूपमा २०५८ जेठ १९ गतेको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाससँगै सकिएको थियो । त्यसलाई औपचारिकता २०६२–६३ को जनआन्दोलनले दिएको थियो । राजा वीरेन्द्रको वंशनास हुँदा अरू जीवित नै रहनुको खुला रहस्यप्रति हामी नेपालीहरू जानकार नै छौँ । त्यसैले ज्ञानेन्द्र र पारसको अनुहार र बेहोरा हेरेर राजतन्त्र फर्काउने आधार बन्न सक्दैन ।

यतिखेर कम्फर्टेबल सत्ता गठबन्धनको क्रियाकलापहरूका कारणले ज्ञानेन्द्र शाहको मनोबल बढेको हो । जनताको मनोविज्ञान पनि राज्य सञ्चालनमा रहेका नेतृत्वहरूको विपक्षमा छ । तर जनताको त्यो मनोविज्ञान राजतन्त्र फर्काउनका लागि होइन भन्ने कुरा ज्ञानेन्द्रलगायत राजावादीहरूले बुझ्न सकिरहेका छैनन् । त्यसैले त उनीहरूले गणतन्त्रलाई गलत तन्त्र भन्दै विज्ञप्तिमात्र निकालेनन्, पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पनि पुगे । यसबाट सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरूले आत्तिएर ज्ञानेन्द्रको विरोधमा बोल्नु र लेख्नु पर्दैन । किनभने संविधानअनुसार आफ्नो राजनीतिक विचार राख्न र सोअनुसार राजनीतिक क्रियाकलाप गर्न ज्ञानेन्द्र शाह र उनका समर्थकहरू स्वतन्त्र छन् ।

३००औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार अघिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीदेखि ज्ञानेन्द्र शाहसम्म पुग्नुभएको थियो । तर दुवैको उद्देश्य भने बिलकुल फरक थियो । हामीले बुझ्नुपर्छ, राष्ट्रपति भण्डारी नेपाल एकीकरणका नायक राष्ट्र निर्मातालाई सम्मान दिन त्यहाँ पुग्नु भएको थियो भने ज्ञानेन्द्र शाह राजतन्त्रप्रति जनताको सहानुभूति बटुल्न । केही व्यक्तिहरू पश्चिमा शक्तिको आशीर्वादमा पृथ्वी जयन्तीको विरोध गरेर मालिक भक्ति पनि दर्साएका थिए । यी तीन पक्षलाई बुझेर मात्रै हामीले तिनका समर्थन र विरोधलाई ठिक ढङ्गले चिन्न सक्छौँ । सत्य कुरो के हो भने पृथ्वीनारायण शाह शाहवंशको राजा मात्र थिएनन्, नेपाल एकीकरणका महान् नायक पनि हुन् । त्यसैले राजतन्त्र १९ जेठ २०५८ मै खतम भएको मान्ने नेपालीको राजनीतिक चेतनाले गणतन्त्रको विकल्प राजतन्त्र ठान्दैन र पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदा राजतन्त्र फर्किँदैन । सबैलाई थाहा छ—लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्र मात्रै हो ।

ज्ञानेन्द्र शाहलगायत शाहवंशका अन्य राजाहरूको चरित्र र प्रवृत्ति हेरेर पृथ्वीनारायण शाहका बारेमा नकारात्मक धारणा बनाउनु गलत हुन्छ । २५० देखि ३०० वर्षअघिको विश्व राजनीतिलाई आजको सन्दर्भमा तुलना गरेर विश्लेषण गर्नु हुँदैन । त्यति बेलाको सन्दर्भ, आवश्यकता र बाध्यतालाई मनन गरेर धारणा बनाउनु पर्दछ । स्वतन्त्र राष्ट्र नेपालको सच्चा नागरिक नेपाली हुनुमा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनु र सम्मान व्यक्त गर्नु हरेक नेपालीको कर्तव्य हो । तर ईसाइ पादरीहरूले लेखिदिएका इतिहासहरू पढेर अनि तिनले फैलाएका भ्रममा परेर पृथ्वीनारायण शाहका विरुद्धमा आएका अभिव्यक्ति तथा क्रियाकलापहरू आपत्तिजनक छन् । त्यस्ता अभिव्यक्ति दिने र क्रियाकलाप गर्नेहरू कसरी देशभक्त नेपाली हुन सक्छन् ? तिनीहरू त कसैका भरिया हुन् । 

इतिहासको समीक्षा गर्दा र इतिहासका बारेमा नयाँ पुस्तालाई बुझाउँदा राजाका रूपमा पृथ्वीनारायण शाहको भूमिका र एकीकरणका नायक दुवै पक्षलाई समेटिनु पर्छ । पृथ्वीनारायण शाह राजा र एकीकरणको नायक भएको सत्य हामीले स्वीकार गर्नुपर्छ । देशमा गणतन्त्र आयो भन्दैमा इतिहासलाई नजरअन्दाज गर्नु हुँदैन, मिल्दैन । पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्दा भाषा तथा संस्कृति र परम्परालाई नियमित गर्ने नीति लिएका थिए । त्यो पश्चिमाहरूलाई मन परेको थिएन र आज पनि मन नपराएका हुन सक्छन् । पश्चिमाहरूले आफ्नो साम्राज्य फैलाउनका लागि आफ्नो भाषा तथा संस्कृति मात्र होइन, धर्म पनि लादेका थिए । उनीहरूले आफ्नो भाषा तथा संस्कृति र परम्परालाई लाद्न पूर्वीय दर्शनमा आधारित शिक्षा व्यवस्थालाई ध्वस्त गरेर पश्चिमा दर्शनमा आधारित शिक्षा व्यवस्था लादेका थिए । त्यही लादिएको शिक्षा व्यवस्थाका कारणले हामी हाम्रो मौलिकता र विविधताको सम्मान नगर्ने भएका छौँ ।

अहिले पृथ्वी जयन्ती मनाउन सङ्कोच मान्नुका पछाडि पश्चिमाहरूले छरेका भ्रमहरूसँगै खराब शिक्षा व्यवस्थाबाट विकसित खराब मनोविज्ञान पनि हो । तर पनि हामी तिनकै प्रभाव, दबाब र लगानीमा परेर राज्यको नीति बनाउने काम गरिरहेका छौँ । उनीहरूको जोड नेपालभित्र राष्ट्रिय मुद्दामा एकता नहोस् अनि नेपालको विकास स्वाभाविक गतिमा अघि नबढोस् भन्ने नै हो, नेपालमा नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो प्रभुत्व एकछत्र कायम गर्नु हो । तर हामी भने कुरै नबुझी भ्रमपूर्ण सूचनाको जगमा धारणा बनाएर रमाइरहेका छौँ । त्यसको पछिल्लो उदाहरण एकातिर हामी अमेरिकी सहयोग परियोजना एमसीसीले राष्ट्रिय स्वाभिमान कमजोर बनाउँछ भनेर विरोध गरिरहेका छौँ भने अर्कोतिर हाम्रो नेपाली पहिचान बनाउन योगदान गर्ने पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्न कन्जुस्याइँ गरिरहेका छौँ । 

अचम्मको कुरो त हिजो सडकमा एमसीसीका विरुद्ध नारा लगाउनेहरू नै आज पृथ्वीनारायण शाहका विरुद्ध बोल्दै छन् । यो खालको विरोधाभास किन ? बाह्य शक्ति यस्तै मनोविज्ञान विकास गर्ने गरी हामीमाथि लगानी र सहयोग गरिरहेका छन् । उनीहरूले बहुत सुझबुझका साथ हामीभित्र अन्तर विरोध सिर्जना गरेर नेपालको परिस्थिति र नेपालीको मनस्थितिलाई आफू अनुकूल बनाउने काम गरिरहेका छन् । तर हाम्रो चेतनाले तिनका षड्यन्त्रलाई समय मै चिन्न सकेको छैन । समस्या शिक्षा व्यवस्थामा छ । यदि आजको शिक्षा व्यवस्थामार्फत नै नयाँ पुस्तालाई प्रशिक्षित गरिरहने हो भने पृथ्वीनारायण शाह अर्थात् इतिहासको सम्मान गर्ने मनस्थिति र परिस्थतिमात्र होइन, देश समृद्ध बन्ने वाला पनि छैन । त्यसैले हामीले हाम्रो शिक्षा व्यवस्थाको दर्शन, उद्देश्य र नीति मै परिवर्तन गर्नुपर्छ । 

अहिले देखिएको विरोधाभासपूर्ण मनोविज्ञानबाट मुक्त हुँदै, इतिहासप्रति गर्व गर्दै भविष्यको प्रश्नमा केन्द्रित भएर वर्तमानमा क्रियाशील हुने क्षमता हामी नेपालीहरूमा विकास हुनसक्छ । अनि मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्पलाई पूरा सकिने छ । 

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : १५ बजे