प्रदेश २ को नाम र राजधानी टुङ्ग्याउन मतदानको तयारी

जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदानबाटै टुङ्गो लाग्ने भएको छ ।

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । 

समितिले आइतबार प्रदेशसभामा प्रतिवेदन पेस गरिसकेको छ । आज बिहान ११ः०० बजे प्रदेशसभा बैठक बस्दै छ । राजधानी तथा नामकरण सम्बन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुङ्ग्याउन मतदान हुनेछ। 

आइतबार बसेको प्रदेशसभाको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले पेस गरेको प्रतिवेदनमा ६ बुँदे निष्कर्षसहित नाम र राजधानी निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउनुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा राजधानीका लागि जनकपुरधाम उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमासम्म राखिएको प्रस्तावमा दलहरुबीच सहमति भएको जनाइएको छ । 

त्यसैगरी, वीरगञ्जलाई राजधानी बनाउन दुई वटा प्रस्ताव पेस भएको छ । पहिलो महानगरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म र दोस्रो वीरगञ्ज महानगरपालिका भरिलाई राजधानीको रूपमा प्रस्ताव गरिएको छ । 

प्रदेशको नाम र राजधानी सम्बन्धमा प्रदेश सभामा भइरहेको अन्तिम छलफलमा पनि दलहरू पुरानै अडानमा देखिएका छन् । 

छलफलमा मधेस केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेशको पक्षमा लागेका छन् भने काँग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेशमै आफ्नो पुरानै अडान कायम राखेका छन् ।  

यसरी दलहरूले आफ्ना पुरानै अडानमा अडिग देखिए पनि प्रदेशको नामकरणमा दुई तिहाइ पुग्ने सम्भावना कम देखिएको छ । 

प्रदेश सभामा अहिले सभामुखसहित १०४ जना सांसद रहेका छन् । दुई तिहाइको सङ्ख्या पुर्‍याउन कम्तीमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । 

मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरी ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी मधेसकै पक्षमा आए पनि दुई तिहाइका लागि ६ मत अपुग हुने देखिन्छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ५३ बजे