कपिलवस्तुको गौरवगाथा सिद्धार्थ गौतमको पुरुषार्थ र प्रसिद्धिसँगै फैलियो । समय बित्दै जाँदा उनको दर्शनको महत्व झन् बढ्दै गएको देखिन्छ । उनको जीवनकालमा बुद्धत्व प्राप्ति र धर्मदेशना (उपदेश) को अभियानमा कपिलवस्तुको दक्षिणपूर्वी, दक्षिण र पश्चिमी गंगा नदीको मैदानी भू—भाग अभिन्न रूपले संलग्न रहेको देखिन्छ ।
राहुल सांकृत्यायनका अनुसार गौतम बुद्धले कपिलवस्तु त्याग गरेपछि ५२८ ई.पू.सम्म बोधगया र सारनाथमा रहे । ई.पू. ५२७–२५सम्म मगधको राजधानी राजगृहमा रहे ।
त्यसै गरी ५२४ मा वैशाली, ५२३ मा मङ्कुल पर्वत, ५२१ मा संसुमारगिरि (चुनार), ५२० मा कौशाम्बी (इलाहाबाद), ५२१ मा पारिलेयक ( मिर्जापुर), ५१८ मा नाला, ५१७ मा वैरंजा (मथुरा र कन्नौजको बीच), ५१६ मा चालिय पर्वत, ५१५मा श्रावस्ती, ५१४ मा कपिलवस्तु, ५१३ मा आलवी (अरवल), ५१२ मा राजगृह, ५१०–११ चलिय पर्वत । ५०९मा राजगृह, ५०८–४८४ मा श्रावस्ती, ४८३ मा वैशाली र कुशीनारा रहेका थिए । तर, कपिलवस्तुको निकट उत्तरतिरको भूगोलमा भने त्यसको प्रभाव कस्तो थियो भन्ने सठीक आँकलन हुन सकेको छैन ।
शाक्यमुनि बुद्धको यात्रा अहिलेसम्म कपिलवस्तुभन्दा उत्तर र हिमालयको दक्षिणीतिर भएको प्रमाण देखिएको छैन । ईसामसीहको जीवनकालका अज्ञात १३ वर्षमा उनी बौद्ध र अन्य पूर्वेली दशर्नको अध्ययन गर्न कस्मिर आएका थिए भनेझैँ गौतम बुद्ध पनि त्यसबेला ख्यातिमा रहेको नेपाल उपत्यकातिर आएका हुनुपर्छ भनेर अनुमान लगाउनेहरु पनि प्रसस्तै भेटिन्छन् । तर, यति भन्दैमा अनुमानको जगमाथि उभिएको विश्वासको महलमा बसाइ सर्न हतारिने कुरा भएन ।
बुद्धको जीवनकालमा दक्षिणतिर ज्ञानको लहर जसरी उठ्न संभव भयो उत्तरतिर त्यस्तो किन देखिएन वा भएर पनि किन उद्घाटित भएन ? यो तथ्य विचारणिय छ । उसो त बौद्ध साहित्यमा २८ बुद्धका अवतारहरुको उल्लेख पाइन्छ । ती मध्येका सत्ताइसौँ अवतार सिद्धार्थ गौतम मानिएका छन् । हिन्दुशास्त्रमा पनि गौतम बुद्धलाई जगतपालक विष्णु भगवानका नवौं अवतारका रूपमा मानिएको छ ।
शाक्यमुनि बुद्धभन्दा पहिलेका केही बौद्धावतारहरु उपत्यकामा आएको भन्ने मिथकीय उल्लेख भेटिन्छ । सत्रलाख २८ हजार वर्षको मानिएको सत्य युगमा उपत्यकाको ठूलो भाग जलमग्न थियो र त्यहाँ नागहरुको निवास थियो । त्यसबेला उपत्यकामा आएका विपश्वी बुद्धले नागार्जुन पर्वतमा तपस्या गरेका थिए । उनले चैत्र पूर्णिमाका दिन जलमा कमलको बिउ रोपे त्यहीँ उनले रोपेको बिउबाट उम्रिएको फूलमा स्वयंभूको ज्योति प्रकट भयो ।
कपिलवस्तुको नजिकै रहेको सस्कृति र दर्शनले सम्पन्न मानिएको विदेह पनि मगध र वैशालीको छायाँमा परेर हो कि किन हो बुद्ध गतिविधिबारे अहिलेसम्म खासै केही उल्लेख पाइँदैन ।
त्यसै ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वम्भू बुद्ध उपत्यकामा आए । बाह्र लाख ९६ हजार वर्षको समय मानिएको त्रेता युगमा चीनबाट मंजुश्री आएर स्वयंभू ज्योतिको दर्शन गरी आफ्नो खड्गले डाँडो काटेर उपत्यकाको पानी निकाली बसोवास योग्य बनाए । उनले धर्माकर नाम गरेका क्षेत्रियलाई त्यहाँको राजा बनाएर चीन फर्किए ।
विपश्वी, शिखी र विश्वम्भू बुद्धका २८ अवतारमध्ये नै भएको बौद्ध साहित्यमा उल्लेख पाइन्छ । थेरवादी मतका अनुसार उनीहरू बुद्ध श्रृंखलाका २२, २३ र २४ औँ अवतारहरु हुन् । उनीहरुको जन्म क्रमशः बन्धुवासी नगर, अरुणावती नगर र अनुपम नगरमा भएको थियो । यी जन्मस्थानहरुको नाम हेर्दा जम्बुद्वीपमा नै भएको अनुमान गर्न सकिन्छ । गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्म र बुद्धत्व प्राप्ति पनि कपिलवस्तुको वर्तमान गोटिहवामा भएको थियो । बुद्धवंशवलीमा उनलाई पच्चीसौँ बुद्धका रूपमा उल्लेख गरिएको छ ।
छब्बीसौँ बुद्ध कनकमुनि कपिलवस्तुको वर्तमान निग्लिहवामा जन्मे र त्यहीँ बुद्धत्व प्राप्त गरेको उल्लेख पाइन्छ । क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध क्रमशः खेमवतीनगर र शोभावती नगरमा जन्मेका भन्ने पनि देखिन्छ । यसको अर्थ हालका गोटिहवा र निग्लिहवा नै त्यसबेलाका खेमवती र शोभावती नगर थिए भन्ने बुझिन्छ ।
गौतम बुद्ध २८औँ अवतार हुन् भने २९ सौँ अवतार मैत्रेय बुद्धको हुने उल्लेख छ । । मंजुश्रीलाई पनि महायान सम्प्रदायका बोधिसत्व मानिन्छ । यो प्रसंगलाई हेर्ने हो भने गौतम बुद्धभन्दा अगावै प्राचीन समयमा काठमाडाँै उपत्यका बौद्ध परम्पराका गतिविधिहरुबाट अलग देखिंदैन । त्यसको प्रभाव त्यहाँको जनजीवनमा कस्तो पर्यो वा त्यसका प्रमाणहरु के के छन् ? भन्ने जिज्ञासा मेट्नका लागि अझै अनुसन्धानको खाँचो छ ।
बौद्ध समय विभाजन अनुसार अहिले चलिरहेको भद्रकल्प हो । यस कल्पका पाँचमध्ये चार अवतारहरु भइसकेका छन् । क्रकुच्छन्द, कनकमुनि, कश्यप र गौतमको अवतार भइसकेको छ भने मैत्रेय बुद्धको अवतार हुन बाँकी रहेको विश्वास छ । जसरी गौतम बुद्धले समकालीन समयमा रुढीवाद विरुद्ध ज्ञानको ज्योति जलाए त्यसै गरी अरुले आआफ्नो समयका समाजलाई के कस्तो योगदान पु¥याए ? भन्ने कुरातिर त्यति चर्चा देखिँदैन । जो होस, पछिल्लो कल्पका तीन बुद्धहरु जन्माएको कपिलवस्तु आफैमा एउटा तपोभूमि हो ।
अहिलेसम्म भेटिएको प्रमाण अनुसार नेपालको सर्वप्रथम उल्लेख ईसापूर्व ८०० देखि ६०० तिरको मानिएको अथर्व परिशिष्टमा ‘नेपालं कामरूपं च विदेहोदुम्बरं तथावन्त्यः केकयश्च उत्तरापूरवे हतो हन्यात्’ भनेर गरिएको छ । यो उद्धृतांशमा कामरूप, विदेह, कैकेय, अवन्ती जस्ता त्यसबेला नाम चलेका राज्यहरुसँगै नेपालको नाम लिएको देखिन्छ । स्कन्दपुराणको हिमवत्खण्डमा नेपाललाई सत्ययुगमा सत्यवती, त्रेतामा तपोवन, द्वापरमा मुक्तिसोपान र कलिमा नेपालिकापुरी भनिने गरेको उल्लेख छ ।
यस्ता कैयन वर्णनहरुले नेपालको अस्तित्व गौतम बुद्धको समयभन्दा सदियौं पहिला रहेको देखाउँछ । बुद्धका प्रिय शिष्य आनन्द कौशल्यायन नेपाल (काठमाडाँै) गएका थिए । खालि खुट्टा हिँडेर जाँदा उनका खुट्टा फुटेको थाहा पाएर बुद्धले अब उप्रान्त हिमाली भेकतिर जाँदा खराउ लाउन हुने नियम बनाएका थिए भन्ने कुरा मूलसर्वास्तिवादविनयवस्तुमा उल्लेख गरिएको छ ।
यसले कौशल नरेश बिड्ढबको कपिलवस्तुमाथिको आक्रमणबाट बच्न शाक्यहरु काठमाण्डौ उपत्यकामा शरण लिन पुगेको पनि त्यो प्रसंगमा उल्लेख भएको छ । यसले गौतम बुद्ध नेपाल उपत्यकाको सभ्यतासंग परिचित भएको देखाऊँछ ।
प्राचीन कालमा नेपालको वर्तमान भूभागमा काठमाडाँै उपत्यकाभन्दा अन्यत्र मानव बसोवास थिएन भन्ने देखिँदैन । जम्बुद्वीपको हिमालय पारि तिब्बततिर आदान—प्रदानको माध्यम पनि यो भूमि रहँदै आएको देखिन्छ । कोशी, गण्डकी, कर्णाली र काली नदीहरु पच्छ्याउँदै ती नदीहरु छेउछाउका तुलनात्मक रूपले सुगम पहाडी बाटाहरु प्रयोग गर्दै त्यसबेला तिब्बततिर जाने आउने चलन रहेको देखिन्छ ।
नेपाल अतिप्राचीन कालदेखि नै मानव गतिविधिहरुबाट अपरिचित नभएको तथ्यहरु पनि फेला परेका छन् । सन् १९८० मा बुटवलको चुरे क्षेत्रमा डचिन्सनले भेटाएको पुरामानव रामपिथेकसको दाँत १ करोड १० लाख वर्ष पुरानो मानिएको छ । ’८० को दशकमा नै उपल्लो मुस्ताङमा पहाडभित्र बनाइएका गुफाहरुमा भेटिएका मानव कंकाल र मिश्रमा झै नसड्ने गरी राखिएका शवहरु भेटिएका छन् । तिनीहरु ईसापूर्व हजार वर्षका हुनसक्ने बताइएको छ । यस्ता धेरै ठाउँहरुको पुरातात्विक अन्वेषण हुन बाँकी छ ।
कपिलवस्तुको नजिकै रहेको सस्कृति र दर्शनले सम्पन्न मानिएको विदेह पनि मगध र वैशालीको छायाँमा परेर हो कि किन हो बुद्ध गतिविधिबारे अहिलेसम्म खासै केही उल्लेख पाइँदैन । पौराणिक चर्चामा रहेका देवघाट, दमौलीको व्यास गुफा लगाएतका धेरै स्थलहरु कपिलवस्तुसँग सम्पर्कित देखिँदैनन् । कपिलवस्तुको उत्तरी सिमा हिमालय भएको उल्लेख पाइन्छ । हिमालयसम्म फैलिएको कपिलवस्तु राज्यकालका कुनै साक्ष्य उपल्लो भागमा फेला पार्न सकिएको छैन ।
निश्चय पनि उत्तरी पहाडी भेक समथर भेकभन्दा भौगोलिक रूपले कष्टकर थियो । त्यसैले जनघनत्व पनि यो भेकमा निकै पातलो थियो भन्न सकिन्छ । बुद्धका अनुयायीहरु जनहरुको संख्या पनि विशाल थियो । जनहरु मात्र नभएर मगध, कोशल जस्ता शक्तिशाली राजाहरु समेत बुद्धका अनुयायी थिए । बुद्धको संघमा सयौँ संख्यामा भिक्षु—भिक्षुणीहरु थिए । बुद्ध आफ्नो संघलाई साथै लिएर यात्रा गर्थे । त्यो विशाल संघलाई धान्ने अवस्था सम्पन्न समथर भागतिर जस्तो पहाडतिर थिएन कि ? भन्ने सोचिनु स्वभाविक छ । तर, यो नै प्रमुख कारण हो जस्तो लाग्दैन ।
(लेखक साहित्य र इतिहासका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : ३ माघ २०७८, सोमबार ७ : ५३ बजे
प्रतिक्रिया