गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु 

चितवन । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ ।

शनिवार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका –२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैँडाले आक्रमण गरेको थियो । 

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिनुभयो । घाँस काट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए । 

सुकबहादुरको शरीरमा लागेको चोटका आधारमा गैँडाले नै उनलाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको भीमसेनले बताउनुभयो । 

मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । यस विषयमा निकुञ्जलाई भने केही जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । घटनाको विषयमा अब बुझ्ने काम हुने उहाँले प्रतिक्रिया दिनुभयो ।

 

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ०२ बजे