राष्ट्रिय सौन्दर्यकर्मी युनियनको अध्यक्षमा पवि गुरुङ

काठमाडौँ । राष्ट्रिय सौन्दर्यकर्मी युनियनको चौथो राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ ।

महाधिवेशनबाट अध्यक्षमा पवि गुरुङ, उपाध्यक्षमा अन्जु गुरुङ,  र महासचिवमा सुजना जोशी  निर्वाचित हुनुभएको छ । 

उपमहासचिवमा १ नम्बर प्रदेशका ममता प्रधान र सचिवमा प्रदेश १ का धनु कुन्दनुवा, लुम्बिनी प्रदेशका निर्मला मल्ल, कर्णली प्रदेशका राधा श्रेष्ठ चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरूमा गीता कंडरिया मैनाली, मिना गुरुङ डङ्गोल, मिना लामासहित २३ सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्नुहुँदै प्रमुख अतिथि नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले अरू पेसाले भन्दा सौन्दर्यकर्मी पेसाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

यो पेसाले धेरैलाई रोजगार मिलेकोले विदेश पलायन हुन नपरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । सौन्दर्य शास्त्रलाई माध्यमिक विद्यालयदेखि स्नातकोत्तर तह सम्मको पाठ्यक्रममा राख्न जिफन्टले सरकारलाई दबाब दिइएको उहाँले बताउनुभयो ।  

गण्डकी प्रदेशका सांसद मिना गुरुङले रुचि र आत्मबल भए, जस्तो सुकै काम सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ०१ बजे