नेपालगञ्जमा सुरु भयो वायुयान सङ्ग्रहालय

राँझा । नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ । 

एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रूपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था वेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन वेद उप्रेतीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो । 

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषतः विद्यार्थीका लागि अध्ययन स्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ । 

नौ वर्षअघि धनगढीमा रु डेढ करोड लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको सङ्ग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुर्‍याउन करिब रु ३० लाख थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई सङ्ग्रहालय बनाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ । 

उपमहानगरपालिकाको सहमतिमा वायुयान सङ्ग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो ।

स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो । रासस

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : ०८ बजे