‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जलहारीको छोरो हुँ

बाबाले कहिलेदेखि जाल खेल्न जानेका थिए त्यो त मलाई हेक्का छैन । मलाई यो हेक्का छ कि म जलहारीको छोरो हुँ । बाबाले पाल्पाको दोभान र झुम्सा खोलामा जाल खेलेर बगरमा माछा झारेको अनि मैले माछा टिपेर फुन्द्रुङ्गमा हालेको । सम्झँदै छु आज पनि । मलाई माछा खान आज पनि खासै मन पर्दैन, तर माछा टिपेर फुन्द्रुङ्गमा हाल्ने रहर उत्पात थियो उतिबेला । माछाका टाउका ठूल्दाइ, माल्दाइले बाबा र आमासँग मिलेर खाँदा मैले प्रायः भूरा माछाको सुप (झोल) खुबै खाम्थेँ । हदै खाँदा माछाको पुच्छरसम्म खाएको हल्का याद आउँछ । 

हाम्रो घरमा माछालाई आगोमा सुकाएर सुकुटी बनाउने चलन खुपै थियो । सुकुटी माछा धेरै मान्छेका घरमा पाहुर बनेर गएका थिए । बाबाले जाडो दिनमा खुबै माछा मार्थे । हुन त बर्खामा नि मार्थे । राति अबेरसम्म पर्खेर माछाको आन्द्राभुँडी फाल्न निन्द्रालाई गोली मारिन्थ्यो । माछालाई तातो खरानी दलेर आन्द्राभुँडी निकाल्दा मज्जा आउँथ्यो । ती दिनहरू यति बेला सम्झन लायक छन् । 

माछा मार्दा पाप लाग्दैन रे ! बाबाले भनेको सुनेको थिएँ । कारण ऊ जामानामा भगवानलाई माछाले राति तर्साएको (डराउन दिएको) थियो रे ! मलाई यो कुरा हिजो मात्रै सुनेझैँ लाग्छ । सायद किंवदन्ती न हुन् । माछा मार्दा पाप नलाओस् भनेर भनिएका कुराहरू होलान् ।

हाम्रा बाबाले खोलामा जिलेटिन बम हान्थे । उनी बम पड्काउन साह्रै सिपालु थिए । त्यही भएर उनले आफ्नो हातको बुढी औलालगायत तीन वटा औँलाहरू खोलामा माछालाई चढाएका थिए । त्यो कुरो २०४२ तिरको हुनुपर्छ । त्यतिबेला नेपाली काङ्ग्रेसले पञ्चायती व्यवस्थाविरुद्ध सत्याग्रह आन्दोलन चलाएको थियो भने रामराजसिंहको पार्टीले बम पड्काएर थर्काएका थिए । 

धन्न दोभानका राजबहादुर श्रेष्ठ दाइले साबिकको लुम्बिनी अञ्चल अस्पतालमा घटनालाई ढाँटेर भर्ना गराएका थिए । मेरो बाबाको जीवन बचाइदिएका थिए । नत्र मेरा बाबा पनि रामराजसिंहको पार्टी कार्यकर्तामा गनिएर बम काण्डमा जेल जान्थे वा उपचारको अभावमा मृत्युको नजिक पुग्थे । 

मेरा बाबा अलि झोक्की खालका थिए । बम पड्काउनु, मान्छे तर्साउनु, लड्नु, भिड्नु उनको वंशाणुगत गुण नै थिए झैँ लाग्छ । केही काम नपाए आमासँग झगडा गरेर पनि आफ्नो गुणलाई तिखार्थे बाबाले । 

माछा मार्न नयाँ जाल बुन्ने, फाटेको जाल तुन्ने, जालमा गोट्टी झुण्डाउने सबै काम गर्थे बाबाले । उनको सीप मिहिन खालको थियो । घण्टौँ जालका ससाना रसीसँग आफूलाई भुलाउँथे । दिनभरि जालको मर्मत गर्थे अनि रातपरेपछि तिनाउ खोलामा जाल फिँजाउन पुग्थे । हुन त दिनमा जाल नखेल्ने होइन, तर दिनको तुलनामा राति बढी माछा पर्थ्यो जालमा । 

सुरुसुरुमा बाबाले रहरले जाल खेलेको हुनुपर्छ । त्यतिबेला उनलाई खान लाउन खासै समस्या थिएन । २०३८ सालको बाढीले जब श्रीसम्पत्ति सबै बगाई दिएपछि जाल खेलेर, बम पड्काएर माछा मारेर परिवार धान्नुपर्ने जिम्मेवारी बाबालाई आइलागेको थियो । माछा मारेर आएको पैसाले परिवार पाल्नुपर्ने बाध्यता थियो बाबालाई । 

कैयौँ पटक मैले ताजा काँचो माछा दोभान गाउँमै बेचेको छु । किलोको मुस्किलले ६०÷८० रुपैयाँ पर्थ्यो झैँ लाग्छ । यकिन छैन । माछा बेचेर मसुरोको दाल, मोटा चामल किनेर जहान पालिन्थ्यौँ । यी कुराले यति बेला थप बल मिलेको छ । 

बाबासँग बगरमा माछा टिप्न खुबै दौडिइन्थ्यो । रहर पनि लाग्थ्यो । न बाबाले साहिँला जाल हान्न सिक् भनेर सिकाए, न मैले बाबा, एक पटक जाल हान्छु भनेर मागेँ । आज  हामीबीच बाबाको भौतिक उपस्थिति छैन । माछा खान मन लाग्यो भने बाबाको याद आउँछ । बाबाको पछिपछि दौडेको सम्झिन्छु । जाल र फुन्द्रुङ्ग आँखामा नाँचिरहन्छन् । 

माछाको सुप अत्यधिक खाइयो । माछा मार्नका लागि जाल हान्न जानिएन । सिकिएन । सीप सिक्नु पर्दोरहेछ । कला जान्नु पर्दोरहेछ । जानेकाले जाल हान्दा फरररर फुकेर जान्छ । नजान्नेले जाल हान्दा डल्लै जान्छ । ज्ञान, सीपलाई व्यवहारमा उतार्न नजान्दा माछा खान लाग्दा बाबालाई सम्झिन परेको छ । जाल र फुन्द्रुङ्गलाई आँखामा झुण्डाउन परेको छ । 

मैले मेरो बाबाको सीप सार्न सकिनँ । बाबाले आफ्नो सीप मलाई दिन सकेनन् । युगले यस्तै ज्ञान, सीप, धारणालाई पुस्तान्तरण गर्न नसक्दा, हस्तान्तरण गर्न नसक्दा मजस्तै बेकामी वा बेकाजी छोरो जन्मिरहने छन् झैँ आत्मग्लानी हुन्छ । 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : २० बजे