‘एउटै नाउरको सिकार गर्न २३ लाख’

माघे सङ्क्रान्तिको महत्त्व

मकर संक्रान्तिलाई थारु समुदायमा माघी नामले चिनिन्छ । यसलाई थारु समुदायले नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउँदै आएको देखिन्छ । यस दिनलाई किरात धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा पनि मनाउने गरेको पाइन्छ । यो नेपालको एक प्रमुख चाड हो । यो माघ महिनाको पहिलो दिनपर्दछ । 

माघे सङ्क्रान्ति हिन्दु संस्कृतिका अनुयायीरूबीच धार्मिक पर्वका रूपमा मनाइन्छ । यस दिनलाई लामो दिनहरू सुरु हुने दिनको रूपमा स्वागत गरिन्छ । यस दिनलाई भिन्न भिन्न समुदाय तथा समूहले सूर्यको उपसना, अनुष्ठान, चङ्गा उडाउने, आगो बालेर ताप्ने, सांस्कृतिक प्रदर्शनीहरू गर्ने, ठुला र पवित्र मानिएका नदीहरूमा स्नान गर्ने, अनेकौँ रङ्ग रमाइलो गरी मनाउने गरिन्छ । यसले सामाजिकीकरणमा सहयोग पुर्‍याउँदै आएको छ । 

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे तापनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ सङ्क्रमण गर्ने (सर्ने) भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । तापनि आजभोलि पुस ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन सुरु हुन्छ ।

माघे/मकर सङ्क्रान्ति पर्व नेपालभरि विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजा—आजा गर्नुका साथै घिउ, चाकु, तिलको लड्डु, तरुल आदि कन्दमूल खाई मनाइन्छ । यस पर्वमा नेपालको देवघाट, बराह क्षेत्र, रिडी, पनौती, दोलालघाट, कनकाई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठुलो भीड लाग्छ ।  भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु आदि ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी भइने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने–भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई माघको महिमा सुनाउँछन् । गृहस्थीहरूले गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । 

शिशिर ऋतुमा पर्ने यस सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् । स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति अर्थात् मकर सङ्क्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यस दान दिने कुरालाई सामाजिक सद्भावको रूपमा पनि लिन सकिन्छ । 

महाभारतका अनुसार भीष्मले यसै दिन मृत्यु रोजेका थिए भने भगिरथले यसै दिन गङ्गालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए्र । त्यसैले, माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गा सागरमा स्नान गर्ने विशेष प्रचलन छ । यस दिन ती ठाउँहरूमा गरिने स्नानलाई महास्नान भनिन्छ । 

(लेखक ज्योतिष शास्त्री हुनुहुन्छ ।)

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ०७ बजे