​​​​सत्तारुढ विद्यार्थी सङ्गठनको दादागिरी : सिंहदरबारभित्रै शर्मालाई दले कालोमोसो

​​​​​​​काठमाडौं । नोबेल मेडिकल कलेज संचालक तथा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दलेर सिंहदरबारभित्रै दुर्व्यवहार गरेका  छन् ।

शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीलेसिंहदरवार परिसरमै शर्मालाइ च्याप समातेर दादागिरी शैलीमा  कालोमोसो दलेका हुन् । उनीहरुले  ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए ।शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलिहाले ।

कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए । कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो ।  छलफलपछि शर्माले छात्रावास शुल्क महँगो नलिएको स्पष्ट पारेका थिए। ‘‘हामीले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन्छौं भनेका छैनौं। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको शिक्षण शुल्क एउटै होस् भन्ने हाम्रो माग हो,’उनले भनेका थिए।

कालोमोसो दल्ने विद्यार्थीहरु भने सत्तारुढ दलकै हुन् ।  एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् भने अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छिन्  । 

​​​​​​​​​​​​​​​​​​​​​


प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ५२ बजे