प्योङयाङ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।
उत्तर कोरियाले यसै साता मात्र दुई वटा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले परीक्षण गरेका मिसाइल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरूले बताउँदै आएका छन् ।
गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ वटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले राष्ट्रसङ्घको सङ्कल्प प्रस्ताव विपरीत बारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियाका कदमको विरोध गरेको छ ।
अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरूमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ ।
त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ । एजेन्सी
प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ७ : ५० बजे
प्रतिक्रिया