देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौँ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । 

धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी  मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभएको हो ।

उहाँले खेलको २१ औँ मिनेटमा सो गोल गर्नुभएको थियो । ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभयो । उपाधिसँगै काठमाडौँले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ । 

खेलको २९ औँ मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो । खेलको ३० औं मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल  गर्नबाट चुक्नुभयो । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन । 

मध्यान्तरपछि खेलको ५५ औंँ मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडौँका गोलकिपर विकेश कुथुले जोगाउनुभयो । खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोक्नुभयो ।

 यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो । खेलको ८२ औं मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुक्नुभयो । खेलको ९० औंँ मिनेटमा काठमाडौंका  बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन । 

काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित हुनुभयो । 

यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित हुनुभयो । दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए । 

कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन । 

यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडौँ र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो ।

राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।  

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ४५ बजे