भारतबाट नेपाल छिरेको पाटेबाघको निगरानी

नेपालगन्ज। केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

मङ्सिर ५ गते राति बर्दिया क्षेत्रमा भारतबाट प्रवेश गरेको सो पाटेबाघको जीपीएस लोकेसनको आधारमा सम्पूर्ण जानकारी प्राप्त गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताउनुभयो।

उहाँले भारतबाट नेपाल प्रवेश गरेको पाटेबाघको घाँटीमा रेडियो कलर जडान गरिएकोले सो पाटेबाघ नेपाल प्रवेश गरेदेखि नै उच्च निगरानीमा राखिएको बताउनुभयो।

बर्दिया निकुञ्जका अनुसार अन्दाजी ७–८ वर्षको सो भाले पाटेबाघ मधुवन–२ स्थित कर्तनियाघाट हुँदै खाता करिडोर भएर नेपाल प्रवेश गरेको थियो। त्यसपछि बाघ गोविन्दपुर बग्नाहा वन क्षेत्रमा पुग्यो। त्यसपछि ज्योतिपुरको वन क्षेत्रमा प्रवेश गरेको देखिएको छ। त्यहाँबाट हर्नवा गएको र अहिले कुसुम्बा र कृष्णसार संरक्षण क्षेत्रमा रहेको देखिएको छ।

दुई दिनदेखि उक्त क्षेत्रमा रहेको झोलुङ्गे पुलदेखि १ किलोमिटर दूरी रहेको जङ्गल क्षेत्रमा सो बाघ रहेको निकुञ्जले जनाएको छ। पाटेबाघले दैनिक करिब ५ देखि ६ किलोमिटरसम्म यात्रा गरिरहेको छ।

पाटेबाघलाई निकुञ्जले भारतीय पक्षसँग समन्वय गरेर निगरानी गरिरहेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामले बताउनुभयो। सो बाघका कारण मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। निकुञ्जले पनि कार्यालयबाट जीपीएसका माध्यमबाट निगरानी गर्नुका साथै ड्रोनसहित ६ जना प्राविधिकको टोली खटाएको छ।

पछिल्लो दुई दिनयता बाघ एउटै स्थानमा रहेकाले आहारा भेटाएको वा धेरै थाकेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ। यस्तै, भारतबाट आएकाले निकुञ्ज क्षेत्रमा रहेका अन्य बाघसँग एक्कासि जम्काभेट हुँदा भिडन्त पनि हुनसक्ने सम्भावना देखिन्छ।

सो बाघ कतै देखिएमा डिभिजन वन कार्यालय, कृष्णसार संरक्षण क्षेत्र, बर्दिया प्रहरी, निकुञ्ज र जिल्ला प्रशासन कार्यालयमा खबर गर्नका लागि आह्वान गरिएको र सचेत रहनको सर्वसाधारणलाई आग्रह गरिएको निकुञ्जले जनाएको छ। हालसम्म गरिएको निगरानीमा खासै खतराका संकेत नदेखिएको जनाइएको छ।

निकुञ्जका अनुसार सो पाटेबाघ पुग्न सक्ने सम्भावित क्षेत्रका प्रहरी पोस्ट, स्थानीय सरकार र अन्य पक्षलाई सतर्क रहन आग्रह गरिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या १२५ पुगेको छ। तीमध्ये ५० वटा मात्रै वयस्क बाघ छन्।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ०७ बजे