सिद्धार्थको महाभिनिष्क्रमण, अनोमा र ज्ञान प्राप्ति 

सिद्धार्थले मध्यमार्ग अपनाएपछि उहाँका निकटतम पाँच साथीहरूले उहाँको निन्दा गर्दै साथ छोडिसकेका थिए । यसो हुँदा पनि दुष्कर चर्यापछि सिद्धार्थले भोजनको माध्यमबाट क्रमशः स्वास्थ्यमा सुधार ल्याउनुभयो, अर्थात् मध्यमार्गमा नै अडिनुभयो । यसबीच वैशाख शुक्ल चतुर्दशीको रातमा उहाँले सपना देख्नुभयो । 

पञ्च महास्वप्नः– ई.पू. ५२८
​​​​​​​त्यस सापनालाई पञ्च महास्वप्न भनिएको छ । के देख्नुभयो वहाँले पञ्च महास्वप्नमा ? निलाई यसरी उल्लेख गरिएको छ ः 

१. विशाल हिमाल उहाँको सिरानी थियो, दुवै हातहरू पूर्व र पश्चिम समुद्रसम्म र पैतालाहरू दक्षिणको समुद्रसम्म फैलिएका थिए । 
२. नाभीबाट कुश उम्रेर आँखाले नभेट्ने गरी सुदूर आकाशमा पुगेको थियो । 
३. दुवै पैतालाबाट काला र सेता कमिला उत्पन्न भई घुँडासम्म आएका थिए । 
४. चार विभिन्न रङ्का चरा उडेर पैतालसम्म आई एउटै रङ्का भई गएका थिए । 
५. फोहोरको थुप्रोमा हिँड्दा पनि वहाँको पैतालामा फोहर लागेको थिएन । यो सपना सामान्य सपना थिएन । यसको विशिष्ट अर्थ छ । 

सपनाबाट ब्युँझेपछि सिद्धार्थलाई लाग्यो आज बुद्धत्व प्राप्त हुनेछ । गाउँमा भिक्षा माग्न जाने तयारी गरी उहाँ वरको रुखमुनि बस्नुभयो । उहाँको मुखमण्डल पूर्वतिर फर्किएको थियो ।

सुजाताको खीर दान र सम्बोधिलाभः– ई.पू. ५२८
उरुबेल गाउँकी युवती सुजाताले वृक्षदेवतालाई खीर चढाउन जाँदा सिद्धार्थलाई देखिन् । तपस्वीको दिव्य तेज र व्यक्तित्वबाट सुजाता यति प्रभावित भइन् कि उनलाई साक्षात् वृक्षदेव आफ्ना अगाडि प्रकट भएजस्तो लाग्यो । उनले त्यो खीर सिद्धार्थलाई दिइन् । सिद्धार्थले खीर खानुभयो । नैरञ्जनाको कञ्चन जलमा नुहाउनुभयो । स्वस्ति ब्राह्मणले दिएको आठ मुठा घाँसको आसन बनाएर बोधिलाभ गरेरै छोड्ने प्रतिज्ञाका साथ उहाँ वृक्षको फेदमा ध्यानमग्न हुनुभयो । हुन पनि त्यही आसनमा वहाँलाई बोधिलाभ भयो । जन्म र मृत्युको गाँठो सधैँका लागि खुल्यो । पैँतीस वर्षको उमेरमा बोधिवृक्षमुनि वहाँ सम्यक् सम्बुद्ध बन्नुभयो । यो वैशाख पूर्णिमाको रात थियो । त्यो ठाउँ बोध गया भनेर चिनियो । बुद्धले जुन वृक्षमुनि ज्ञान प्राप्त गर्नुभयो, त्यो पिपलको वृक्षलाई बोधिवृक्ष भनियो । ज्ञान पाएपछि बुद्ध सात सप्ताह बोधिवृक्षकै वरिपरि साधना गरेर बस्नुभयो ।

प्रथम धर्मचक्र प्रवर्तन: ई.पू. ५२८
आफूले पाएको ज्ञान संसारको हितका लागि बाँड्ने आशयका साथ बुद्धको धर्मयात्रा आरम्भ भयो । सारनाथको मृगदाव वनमा पाँच जना साथीहरूलाई ज्ञान सिकाउन उहाँ त्यतैतिर लाग्नुभयो । उनीहरू दुष्कर चर्याको अभ्यास गर्दाका साथी थिए । तीमध्ये मुख्य कौडिन्य त दरबारीया गुरु पनि हुन् । बुद्धले चतुरार्य सत्यको गहिरो उपदेश दिँदादिँदै उनी अर्हत् बने । बुद्धले सारनाथमा पहिलो उपदेशद्वारा जगतका लागि कल्याणको ढोका उघार्नुभयो । यो घटनालाई प्रथम धर्मचक्र प्रवर्तन भनेर चिनिन्छ ।

सङ्घको विस्तार: ई.पू. ५२८–४८३ सम्म
पञ्च वर्गीय भिक्षुहरूलाई प्रव्रज्या दिइसकेपछि बुद्धका अनुयायीहरूको सङ्ख्या दिनानुदिन बढ्न थाल्यो । सद्धर्मको गङ्गा अविरल प्रवाहमान हुन थाल्यो । भिक्षु—भिक्षुणीहरूको सङ्घ बन्यो । उँच र नीचको पर्खाल भत्कियो । धनी र गरिबको सीमा मेटियो । लाखौँ उपासक र उपासिकाहरूको सङ्घ बन्यो, जो घरमा रहेर पनि बुद्धको उपदेश अनुसार ज्ञानको मार्गमा आरूढ भए । 

ज्ञान प्राप्तिपश्चात् ८० वर्षको उमेरसम्म लगातार ४५ वर्ष बुद्धले उपदेश दिइरहनु भयो । हरेक वर्ष वर्षावासका तीन महिना बाहेक अन्य समयमा बुद्धको यात्रा अविश्रान्त रह्यो ।

महापरिनिर्वाणः– ई.पू. ४८३
बुद्धको शरीरले ८० औँ वसन्त पार गर्दै थियो । र, त्यो जराजीर्ण भइसकेको थियो । राजगृहबाट वैशाली जाने क्रममा उहाँ अस्वस्थ हुनुभयो । वहाँले आनन्दलाई तीन महिनापछि शरीर त्याग्ने कुरा सुनाउनु भयो । पावा पुग्दा नकर्मी चुन्दले सुकरमद्दव भनिने विशेष परिकार खुवाए । त्यसपछि बुद्ध झन् बिरामी हुनुभयो । बुद्धको अन्तिम शारीरिक यात्रा जसोतसो कुशीनगरसम्म पुग्यो । सालका दुई रुखको माझमा आसन लगाई पल्टेर अन्तिम क्षणसम्म पनि उपदेश दिइरहनु भयो । अन्ततः लोकलाई अनित्यको अन्तिम पाठ पढाउँदै ध्यानद्वारा पूर्ण शान्तिमा प्रवेश गर्नुभयो । यो वैशाख पूर्णिमाको रात थियो । बुद्धले शरीर त्यागेको घटनालाई महापरिनिर्वाण भन्ने गरिन्छ । 

अस्थिधातुको वितरण:– ई.पू. ४८३
कुशीनगरमा राजकीय सम्मानका साथ बुद्धको शरीरको दाहसंस्कार गरियो । वहाँको अस्थिधातु कसले लाने भन्ने विषयमा कुशीनगर र आसपासका राजाहरुमा विवाद भयो । द्रोण नाम गरेका ब्राह्मणले विवाद समाधानका लागि अस्थिधातुलाई आठ भाग लगाए । जसमध्ये मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, पावा, कुशीनगर र बेठद्वीपका ब्राह्मणहरूलाई क्रमशः एक एक अंश प्राप्त भयो । अस्थिधातु सङ्कलन गरिएको घडा द्रोण आफैले राखे भने पिप्पलीवनका मौर्यहरू पछि आएका हुनाले कोइला मात्र प्राप्त गरे । बुद्धको अमूल्य अस्थिधातु लगिएका ठाउँहरूमा स्तूपहरू बनाइए । बुद्धको पूर्ण पारदर्शी र सार्वभौम धर्मको उपहारले विश्व धन्य बन्यो । 

कोलिय गणराज्य र बुद्ध
कोलिय गणराज्यको स्थापना र रामग्रामको जानकारी हुन पनि उत्तिकै आवश्यक छ । प्राचीन कालमा काशीका राजा रामलाई कुष्टरोग लाग्यो । राजवैद्यको सल्लाहमा उनलाई राजा र राज्यबाट निर्वासन गरियो । उनलाई कोलवृक्ष रहेको जङ्गलमा गएर बस्न, कोलवृक्षको पात, बोक्रालाई पिसेर पेष्ट(लेप) बनाई रोग लागेको घाउमा लगाउने सल्लाह दिएको थियो । सोही सल्लाह अनुसार राजा राम कोलवृक्षको जङ्गल भएको उत्तर क्षेत्रतर्फ आए । वैद्यको सल्लाह अनुसार नै कोलवृक्षको जङ्गलमा बस्न थाले र उपचार पनि गर्न थाले । (आयुर्वेद चिकित्सा अनुसार फाईबरयुक्कोत लवृक्ष झाडीदार जडीबुटी पनि हो, जुन चर्मरोगका लागि आज पनि उपयुक्त मानिन्छ ।) सोहीबेला कोशलको अक्काका राजवंशकी राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनलाई पनि राजवैद्यकै सल्लाहमा कोलवृक्ष भएको जङ्गल क्षेत्रमा निर्वासन गरिएको थियो । उनीहरू निर्वासित भएर कपिलवस्तुमा नै बसेका थिए । 

बनारसका राजा राम र राजकुमारी सुप्रिया दुबै जना कोलवृक्षको जङ्गलमा बस्दै उपचार गर्दा गर्दै कुष्टरोग निको भयो । (कोलवृक्ष झाडीदार वनस्पति हुने हुँदा बाघको बासस्थान पनि राम्रो मानिन्थ्यो, त्यही भएर यस क्षेत्रलाई आर्यहरूले संस्कृत भाषामा ब्याघ्रपुरी, मुगल शासकहरूले फारसी भाषामा बघौर तप्पा भनेर पनि उल्लेख गरेको पाइन्छ ।) जङ्गलमा बस्दै गर्दा कोलिय जङ्गलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । राजा रामले बाघबाट सुप्रियालाई उद्धार गरेर बचाए । पछि राजा राम र सुप्रियाबीच विवाह भई दुवैको दाम्पत्य जीवन सुरु भयो । तत्पश्चात् नत राजा राम बनारस फिर्ता गए, नत सुप्रिया कपिलवस्तु गईन् । कोलवृक्ष जङ्गल क्षेत्रमै बस्ती बनाएर बस्न थाले । जुन गाउँ रामले बनाए, त्यही गाउँलाई रामग्राम भन्न थालियो । कोल जङ्गल क्षेत्रमा अन्य गाउँ र नगरहरू स्थापना हुँदै गए । पछि यो बस्ती राज्यको रूपमा विकसित भयो । कोलवृक्षबाट जीवन पाएका बनारसका राजा राम र सुप्रियाले राज्यको नाम कोलवृक्षबाट नै कोलिय राखे । 

कोलिय राज्यको राजा राम भए र उनले बनाएको गाउँ रामको गाउँ अर्थात् राजधानी रामग्राम बन्यो । इतिहासकारहरूका अनुसार कोलिय राज्यको सिमाना पूर्वमा प्राचीन कालमा अनोमा भनिने नारायणी नदी हो । उत्तरमा चुरिया(चुरे) पर्वत, पश्चिममा रोहिणी नदी र दक्षिणमा सूर्यगुप्त मौर्यको राज्य पिपलीवनसम्म फैलिएको थियो । कोलिय राजा राम र कपिलवस्तुका शाक्य राजाहरूबीच बिहेबारी सुरु भयो र त्यसले निरन्तरता पाउँदै  गयो । यसै क्रममा कोलिय राजकन्या मायावती र शाक्य युवराज शुद्धोधनबीच वैवाहिक सम्बन्ध जोडिन पुग्यो र दुई गणराज्यबीचको बिहेबारीको निरन्तरता कायम रह्यो । 

यिनै मायादेवी र शुद्धोधनको छोराको रूपमा सिद्धार्थ जन्मेका हुन् । मायावतीकी बहिनी प्रजापति शुद्धोधनको कान्छी रानी थिइन् । मायादेवीको मृत्युपश्चात् प्रजावतीले नै सिद्धार्थको पालन पोषण गरिन् । सिद्धार्थको विवाह पनि कोलिय कन्या यशोधरासँगै भयो । सिद्धार्थ गौतम पछि गृह त्याग गरी बोधि-ज्ञानको खोजीमा लागे र सम्यक् सम्बोधी प्राप्त गर्दै सम्यक् सम्बुद्ध भए । उनको महापरिनिर्वाणपश्चात् उनको अस्थिमा कोलिय राजाले आफ्नो हक दाबी गर्दै अस्तु ल्याएर स्तूप स्थापना गरे । कोलिय राजा अर्थात् रामग्रामका राजाले अस्थि ल्याएर बनाएको स्तूपका कारण ‘रामग्राम स्तूप’ भनेर चिन्ने गरिन्छ ।

बुद्धले महाभिनिष्क्रमण गरेको महत्त्वपूर्ण ठाउँ अनोमाघाट बौद्ध धर्मावलम्बीहरूका लागि अत्यन्त महत्त्वपूर्ण पवित्र स्थल हो । यो स्थल सिद्धार्थले प्राप्त गरेको ज्ञानको मुख्य प्रस्थान बिन्दु हो । यसको उचित प्रबन्ध प्रचार-प्रसारका लागि राज्यले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसलाई लुम्बिनी विकास कोषद्वारा तयार हुँदै गरेको बृहत् लुम्बिनी (ग्रेटर लुम्बिनी) मा यस क्षेत्रलाई समावेश गर्नुपर्दछ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  १० : २१ बजे