एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानलसहित निर्वाचित भएका छन् । 

बुधवार साँझ आएको मत परिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुख समेत रहनुभएका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित हुनुभएका हो । उहाँका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल) ले १८३ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गर्नुभएको छ । 

सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित हुनुभएको छ । भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गर्नुभएको छ । सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाउनुभएको छ।

त्यसैगरी उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित हुनु भएको छ । चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गर्नुभएको छ । उपसचिव पदका अर्का प्रत्याशी शेरबहादुर चन्दले १ सय ९७ मत प्राप्त गर्नुभएको छ  । 

जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तः निर्वाचन भएको थियो । निर्वाचनमा ४ सय ७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ३० बजे