काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ कर अर्थात् ट्यारिफ लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले आगामी वर्षको जनवरी २० मा औपचारिक रुपमा राष्ट्रपतिको शपथ लिनुहुने छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत् आफ्नो कार्यकालको पहिलो दिन मै क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमाथि कर लगाउनेसम्बन्धी कार्यकारी कागजातमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले क्यानडाबाट अमेरिका आउने प्रत्येक उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको हो । यसैगरी अर्को छिमेकी देश मेक्सिकोका सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा पनि उहाँले गर्नुभएको छ । यस्तै ट्रम्पले अमेरिका आउने प्रत्येक चिनियाँ उत्पादनमा थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ ।
ट्रम्पले क्यानडा र मेक्सिकोविरुद्धको यो शुल्क आप्रवासी र अवैध लागूऔषध रोक्न आवश्यक भएको स्पष्ट पार्नुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पको उक्त निर्णयले तीन वटै राष्ट्रसँगको सम्बन्धमा तिक्तता आउन सक्ने बताइएको छ । नवनिर्वाचित राष्ट्रपतिको निर्णयले विश्वव्यापी असर पर्ने बताइएको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ५ : ३२ बजे
प्रतिक्रिया