एमाले कास्की अध्यक्षमा गुरुङ विजयी

पोखरा । नेकपा (एमाले) कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी हुनुभएको छ । कार्यवाहकसमेत रहनुभएका उहाँले निकटतम प्रतिद्वन्द्वी दामोदर वैरागीलाई हराउँदै निर्वाचित हुनुभएको हो ।

बुधवार बिहान सकिएको अन्तिम मत परिणामअनुसार गुरुङले कुल ४५६ मत ल्याउनुभयो भने वैरागीले ४०७ मत ल्याउनुभएको छ ।

शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधान विपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

कास्कीमा एमाले गण्डकीका नेता द्वय पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गर्नुभएको थियो ।

विजयी गुरुङ पृथ्वी सुब्बा प्यानल र वैरागी खगराज प्यानलबाट उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : २८ बजे