एमालेले बुझेन महानगरको ‘स्टन्ट’ पत्र

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ ।

एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैँ सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताउन’भयो । एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले सभा आयोजना गरेको थियो । सडक र पेटीमा भएको फोहोर आफैँले सफा गरेको एमालेको दाबी छ ।

तर, फोहोर नउठाएको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो । सोबारे फेसबुकमा महानगरका मेयर बालेन्द्र शाहले नै पोस्ट गरेका थिए । त्यसलाई एमालेले ‘स्टन्ट’ भनेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : ५३ बजे