एमालेलाई जरिबानाको पत्र लेख्दा बालेनले गरेका ६ गल्ती 

काठमाडौँ । गएको शुक्रबार एमालेको सभा चल्दै थियो। राजधानीमा काठमाडौं महानगरपालिकाले एमालेलाई सार्वजनिक स्थलमा फोहोर गरे बापत भन्दै १ लाख जरिबाना गराएको प्रचार भयो। एमालेको सभा नसकिँदै यो चर्चा चलेको थियो। 

विगत केही समय देखि काठमाडौँ महानगरपालिकाका मेयरलाई मोहरा बनाएर एमाले र प्रधानमन्त्री केपी ओलीविरुद्धको अभियान सञ्चालन हुँदै आएका छन् ।  कहिले धार्मिक र कहिले राष्ट्रिय दिवसको अवसरमा यस्ता घुस पैठ हुँदै आएका छन् । तिनमा प्रहरीले बालनेका समर्थक देखि  राजावादी र माओवादी सम्म फेला पारेको तथ्य यस अघि नै सार्वजनिक भएका छन् । 

पछिल्लो समय राजधानीमा एमालेले शुक्रबार आयोजना गरेको सभामा केही विषय नपाए पछि  मेयर बालेन साहले फोहोरको शिर्षक उठाएर एमालेलाई १ लाख जरिबाना तिराउने पत्र काटेका छन् । तर त्यो पत्र कहाँ पुग्यो, कसले बुझ्यो, कसलाई पठाइयो भन्ने सम्मको अत्तो पत्तो छैन। 

पत्र काट्दा बालनेले यति हतार गरेको देखिन्छ कि त्यसमा आयोजक समेत को हो भन्ने स्पष्ट छैन। पत्र काट्दा बालेनले गरेका यी  छ गल्ती–

गल्ती १

शुक्रबार आयोजित एमालेको जागरण सभाको कार्यक्रमको आयोजक एमाले केन्द्रीय कार्यालय होइन। त्यसका आयोजक एमालेका काठमाडौँ, ललितपुर, भक्तपुर जिल्ला कमिटी हुन् । उपत्यकाका इन्चार्जका हिसाबले त्यसको संयोजक हुनुहुन्थ्यो डा. राजन भट्टराई । तर काठमाडौँ महानगरपालिकाले लेखेको पत्र एमाले केन्द्रीय कार्यालय च्यासलको नाममा रहेको छ। 

गल्ती २

सामान्यतया जाडोको समयमा सरकारी कार्यालय चार बजे बन्द हुन्छन् । सो अनुसार शुक्रबार तीन बजे नै बन्द हुने नियम छ । शुक्रबार  सो पत्र चार बजेपछि काटिएको छ। जुन बेला एमालेको सभा सकिएको नै थिएन । सभा नसकिई पत्र काटिदा सभा भएको स्थान खाली हुँदैन। खाली नभएपछि फोहोर भयो कि भएन भनेर देख्न समेत सकिँदैन।  मेयर बालेनले कसरी पत्ता लगाउनुभयो होला पक्कै एमालेले सभा गरेको स्थल फोहोर हुन्छ  भनेर ।

गल्ती ३

महानगरको पत्र सार्वजनिक हुँदा सभास्थालमा कुनै फोहोर थिएन। विगतदेखि नै एमालेले आफूले सभा गरेको स्थलमा समापनपछि आफै सफा गर्दै आएको छ।

गल्ती ४

फोहोर गरेबापत जरिबाना गर्न भनी लेखेको पत्र सार्वजनिक हुँदा सभास्थलमा कुनै फोहोर नै थिएन। किन कि पत्र सार्वजनिक हुनु अघि नै त्यो स्थल सफा गरिसकिएको थियो। 

गल्ती ५

सामान्यतया महानगरपालिकाको कार्यविधि अनुसार सबैभन्दा पहिला कसैले  सार्वजनिक स्थलमा फोहोर गरेमा त्यो फोहोर जसले गरेको हो त्यसलाई हटाउन आदेश दिइन्छ । त्यसपछि पनि अटेर गरे अनि मात्र जरिबानाको पत्र काट्ने  नियम छ । तर एमालेलाई  लेखेको पत्रमा भने फोहोर हटाउने आदेश नभई एकै चोटि जरिबाना तोकिएको  छ ।

 गल्ती ६

 महानगरपालिकाले लेखेको पत्र अहिलेसम्म बेपत्ता छ। एमाले केन्द्रीय कार्यालय च्यासल भनी सम्बोधन गरेर लेखिएको पत्र आइतबारसम्म पनि पुगेको छैन। केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले चक्रपथसँग भन्नुभयो–महानगरको त्यो पत्र पनि थाहा छैन, सभा स्थलमासमेत कुनै फोहोर बाँकी छैन।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ०२ बजे