राष्ट्रपति भवनमा घटस्थापना

एमाले जिल्ला अधिवेशन : कैलालीमा थापा निर्वाचित

सुदूरपश्चिम । नेकपा (एमाले) कैलालीको धनगढीमा भएको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्को कार्यकालका लागि पुनः रतन थापा निर्वाचित हुनुभएको छ । 

गए राति सकिएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतान्तरले पराजित गर्दै थापा निर्वाचित हुनुभएको हो । थापाले २८७ मत र निवर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चन्दले २८३ पाउनुभएको छ ।

उपाध्यक्षमा दुर्गाप्रसाद जोशी र सचिवमा डेजी पाण्डे निर्वाचित हुनुभएको छ । उपसचिवमा ममताप्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्वसहितका पदाधिकारीमा आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको हो । एक सय ५० सदस्यीय जिल्ला कार्यसमितिको महिला र थारू क्लष्टरतर्फका सदस्य भने निर्विरोध निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।

डोटीमा मल्ल विजयी

नेकपा (एमाले) डोटीको जिल्ला अध्यक्षमा चक्रबहादुर मल्ल बिजयी हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहनुभएका मल्ल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यसैगरी उपाध्यक्ष मञ्जु मलासी, सचिव शेरबहादुर मल्ल, उपसचिव कृष्णबहादुर खडका, तेजबहादुर डुम्रेलले जिम्मेवारी प्राप्त गर्नुभएको एमालेले जनाएको छ । 

अधिवेशनमा मूल आयोजक कमिटीका १४८ तथा यहाँका नौवटै वडाबाट छनोट गरिएका ३८६ र मनोनित २७ जना गरी कूल ४१३ प्रतिनिधि सहभागी थिए । अधिवेशनका लागि जिल्लाका नौवटै पालिकाबाट अधिकांश प्रतिनिधि सहभागी रहेका थिए । 

लमजुङको अध्यक्षमा अधिकारी 

नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । एमालेको एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । 

त्यस्तै उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिवमा भने चार जनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित हुनभएको छ । 

अध्यक्ष, उपाध्यक्ष, सचिवबाहेकका अन्य पद उपसचिव, भूगोलतर्फका सदस्य, खुला सदस्य र सुन्दरबजार पालिका भूगोल सदस्य पदका लागि निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृतवमा ९५ सदस्यीय सदस्य कमिटी बनेको छ । निर्वाचित सबै पदाधिकारी तथा सदस्यले सोमबार राति नै शपथग्रहण गरेका छन् । रासस

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ४२ बजे