राष्ट्रपति भवनमा घटस्थापना

सभामुखसँग एमालेको छलफल हुँदैन :  सुवास नेम्वाङ

इलाम – नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताउनु भएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताउनु भएको हो । 

‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई दलको बिचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थप्नुभयो, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने ?’

 ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भन्नुभयो ,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस् ।’ नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मक भन्नुभएको छ। 

‘हामीले भेटवार्तालाई सकारात्मक रूपमानै लिएका छौं । तर छलफल औपचारिक मात्रै भएको छ’, नेम्वाङले भन्नुभयो । एमाले नेता नेम्वाङले एक मिनेट पनि सदन अवरुद्ध हुनु सरकारको लागि इज्जतको कुरा नभएको टिप्पणी गर्नुभएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेको सूचनालाई टाँस गर्दै उनीहरूलाई संसद्मा उपस्थित हुन दिनु नहुने माग गर्दै नियमित रूपमा सदन अवरोध गर्दै आएको छ । तर, निर्वाचन आयोगले उनीहरूलाई छुट्टै पार्टीको मान्यता दिइसकेकाले केही गर्न आवश्यक नभएको सभामुखको निर्णय छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले केही नगरी बस्न नपाइने दाबी गर्नुभयो । 

नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको बताउनुभएको छ । दसौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा नेम्वाङले भन्नुभयो , ‘पार्टीमा अब गुट छैन, गुट हुनु पनि हुँदैन’, गुटगत गतिविधि इन्कार गर्नुपर्छ, नेतृत्वले सबैलाई समेट्नुपर्छ ।’

नेम्वाङले दूषित काम कारबाही गरेर एमाले सरकारमा नजाने बताउनु भएको छ । उहाँले निर्वाचन मार्फत नै एमाले सरकारमा पुग्ने दाबी गर्नुभयो  ।

उहाँले तागत भए एक्लै हराएर देखाउन चुनौती दिनुभयो । एमालेलाई हराउने क्षमता भए प्रतिनिधिसभाको उपनिर्वाचन किन नगराएको भनेर प्रश्न गर्नुभएको छ । ‘कुनै पनि पद खालि भएको छ महिना भन्दा बढी समय भए उपनिर्वाचन गराउनुपर्छ’, नेम्वाङले भन्नुभयो, ‘एमालेलाई हराउने आँट भए उपनिर्वाचन किन नगरेको ?’ नेम्वाङले अहिलेको सरकारमा निर्वाचन सार्ने बानी परेकाहरू भएकाहरूले समयमा निर्वाचन हुनेमा समेत शङ्का व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : २९ बजे