मन्त्रिपरिषद् बैठक सुरू

एमालेको जागरण सभाको सन्देश 

राजनीति पार्टी सधैँ जनतासँगै हुन्छन् , सभाका संयोजक परिवर्तन 

एक लाख जनता सडकमा उत्रने निश्चित 

काठमाडौं। शुक्रबार सत्तारुढ दल एमालेले राजधानीमा जागरण सभाको आयोजना गर्ने भएको छ। यो जागरण सभाका विषयलाई लिएर एमालेको पक्ष र विपक्षमा अनेक टिप्पणी भएका छन् । 

कतिपयले सरकारमा एमाले भएकोले  यो सभा गर्नु ठिक थिएन भन्नेसम्मका टिप्पणी गरेका   छन् । यो भन्दा अझ अगाडि बढेर  सरकार र सडक एउटै पार्टीको हुन सक्दैन भन्नेसम्मका टिप्पणी गरेका छन् । 

जनतामा आधारित राजनीति गरेका पार्टीहरूले  कहिल्यै पनि सडक छोड्दैनन् । उनीहरू हमेशा जनताको माझमा नै रहने गर्छन्।  राजनीतिका पार्टीका लागि सरकार भनेको अस्थायी हो र सडक भनेको स्थायी हो। राजनीतिक पार्टी सरकारबाट अलग हुन वा सहभागी हुन सक्छन् । तर सडकबाट अलग हुन सक्दैनन्। किन कि जनताका हरेक माग  सडकबाट उठाएर उनीहरु सरकारमा प्रवेश गर्न पुग्छन् । 

एमालेले शुक्रबार गर्न लागेको सभा कुनै विरोध वा माग अगाडि सार्नका लागि नभएको  सो पार्टीका नेताहरुले प्रस्ट पारेका छन् । उनीहरुका अनुसार यो जागरण सभा सचेतनताका लागि र अराजकताका विरुद्ध हो। अर्थात् नेताहरूको भनाई अनुसार यो समाजमा चेतना विकास गर्ने र एमाले अहिले पनि जनताकोबीचमा छ भनेर सन्देश दिनका लागि हो। 

पार्टीको  एउटा सानो हिस्सा सरकारमा हुन्छ। सानो सङ्ख्यामा नेताहरु रहन्छन् । तर पार्टीको ठुलो हिस्सा सडकमा नै रहन्छ। त्यसै कारण एमालेले शुक्रबार जागरण सभा आयोजना गर्न लागेको प्रस्ट भइसकेको छ। एमालेको यो सभालाई  गलत  तरिकाले टिप्पणी गर्नेहरूले बुझे हुन्छ पार्टी सधैँ सडकमा जनतासँग हुन्छ। 

कसरी हुँदै छ एमालेको शुक्रवारको सभा ?

७ गतेको जागरण सभा भृकुटी मण्डपमा आयोजना गर्ने तयारी भएको थियो । तर स्थान परिवर्तन हुँदै काठमाडौँको दरबारमार्गमा हुने भएको छ। भृकुटीमण्डपमा सभा गर्ने प्रारम्भिक योजना भए पनि स्थान सानो हुने भएकाले दरबारमार्गमा सभा गर्ने निर्णय भएको संयोजक राजन भट्टराईले जानकारी दिनुभयो 

पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमालेले सो सभामा एक लाख जनतालाई उतार्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । सो दिन जुलुस भद्रकालीबाट सुरु भई न्यु रोड गेट, वीर अस्पताल, रत्नपार्क, त्रिचन्द्र क्याम्पस हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने छ । सभा दिउँसो १२ः३० बजे सुरु हुनेछ।

सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुने छ । 

 भट्टराईको साटो ढुङ्गेल संयोजक 

काठमाडौँमा गर्न लागेको जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाउनुभएको छ  । यसअघिका संयोजक रहनुभएका  राजन भट्टराई आइसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुन कम्बोडिया उडेपछि ढुङ्गेललाई जिम्मेवारी दिइएको हो ।

अधिवेशनमा एमालेका स्थायी समिति सदस्यका हैसियतले सहभागी हुनुपर्ने भएकोले भट्टराई बुधवार साँझ कम्बोडिया जानुभएको हो  ।  भट्टराईले भन्नुभएको छ  ‘मेरो मङ्सिर ७ कार्यक्रमको जिम्मेवारी मेरो अनुपस्थितिमा कैलाश ढुङ्गेलले सम्हाल्नुहुने जानकारी गराउन चाहन्छु ’।

 क्याम्बोडियामा हुने कार्यक्रममा भाग लिन नेपालका ५ भन्दा बढी दलका १३ जना प्रतिनिधि गएको जानकारी भट्टराईले गराउनुभएको छ  । ढुङ्गेल यसअघि समितिका सह-संयोजक हुनुहुन्थ्यो । सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, वचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, समिक बडाल र जनक चौधरी हुनुहुन्छ  ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  २ : ०७ बजे