भारतका अर्बपति गौतम अडानीविरुद्ध अमेरिकाको न्युयोर्कमा मुद्दा दायर

काठमाडौं । भारतका अर्बपति व्यवसायी तथा अडानी ग्रुपका मालिक गौतम अडानीविरुद्ध अमेरिकाको न्युयोर्कमा बहुअर्ब डलरको घुस तथा धोखाधडीको योजनामा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

अडानी र उनका भतिजा सागर अडानी सहितका अन्य सात जनामाथि भारतका सरकारी अधिकारीहरुलाई सौर्य उर्जा प्लान्ट परियोजना निर्माणको ठेक्का हात पार्नका लागि साढे २६ करोड अमेरिकी डलर घुस दिन सहमति जनाएको अभियोग लगाइएको हो ।

नवीकरणीय उर्जासम्बन्धी अडानीको कम्पनीले यस परियोजनाबाट २० वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउने अपेक्षा गरिएको बताइएको छ । अडानी र उनको अडानी ग्रिन इनर्जी कम्पनीका पूर्व सीईओ विनित जैन मिलेर भ्रष्टाचारका कुरा गोप्य राख्दै अमेरिकी फर्म लगायतका लगानीकर्ताबाट तीन अर्ब डलर लगानी उठाएको आरोप समेत उक्त अभियोगपत्रमा लगाइएको छ ।

अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुन्छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ८ : ३३ बजे