राष्ट्रपति भवनमा घटस्थापना

बाहिरियो देउवा र बतासको सम्बन्ध : यस्तो छ २१ वर्ष देखिको घनिष्ठ दोस्तीको नालीबेली

काठमाडौं । नारायणहिटी दरबार संग्राहलय भित्र रेस्टुरेन्ट बनाउन खोज्दा नमम्जासँग नाङ्गिएको बतास समूहका मुख्य व्यक्ति आनन्द बतास र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बन्धको नालीबेली छर प्रस्ट भएको छ ।  

सुरुमा बतासलाई एमालेसँग जोडी प्रचारबाजी गरिए पनि अन्ततः प्रधानमन्त्री देउवा र बताससँगको कनेक्सन छताछुल्ल भएको हो । 
काँग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग बतासको दोस्ती २१ वर्ष पुरानो भएको पाइएको हो । त्यसो त बतास समूहले प्रधानमन्त्री पत्नी आरजु राणालाई आफ्नो टिमको सल्लाहकार बनाउनुबाटै पनि उनीहरूको सम्बन्ध आङ्कलन गर्न गाह्रो पर्दैन थियो । आरजु र बतास कनेक्सन छताछुल्ल भएपछि बतासको सल्लाकारबाट आरजुको नाम गायब पारिए पनि देउवा उनकी पत्नी आरजु र बतासको सम्बन्ध बाहिरिने क्रम जारी नै छ ।  

प्राप्त सूचना अनुसार २१ वर्ष अघि बतासले होटेल व्यवसाय सुरु गर्दा पोखरा सभागृह वरिपरि राम्रा होटेल थिएनन्, नेताहरू भाषण गरेपछि उनकै होटेलमा बस्न जान्थे । आनन्द पनि सबै चाँजोपाँजो मिलाइदिन्थे । नेताहरूलाई आफ्नो पक्षमा पार्न र काम लिन सिपालु उनलाई सङ्गत गरेका पोखरेलीहरू यही होटेलबाट देउवा र उनको सम्बन्ध बढेको बताउँछन् ।  

तत्कालीन पोखरामा होटेल आनन्द सञ्चालन गरेर बसेका बतासले आफ्नो होटेलको माध्यम बाट नै देउवासँग सम्बन्धको डोरो कसेको उनीहरू बताउँछन्  । २०५७ मा पोखरामा नेपाली काँग्रेसको दसौँ महाधिवेशन थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस बेला देउवा बतासकै होटेल आनन्दमा बास बसेका थिए । त्यतिखेरै बनेको सम्बन्ध देउवा पत्नी आरजु राणामार्फत अहिले झनै मजबुत मात्र भएको छैन, काङ्ग्रेसभित्र बलियो शक्तिका रूपमा स्थापित छ ।

०७४ को प्रतिनिधिसभा चुनावभन्दा केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा पोखरा आइपुगे । चुनावको राप ताप र टिकटको रस्साकस्सी चलिरहेका बेला पाँचतारे होटेल पोखरा ग्रान्डमा बसेका देउवालाई भेट्न कास्कीका पुराना काँग्रेसी नेताहरू लाइन लागे ।

त्यही लाइनमा थिए नेताहरू शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियतबहादुर अधिकारीहरू । उनीहरूले आफ्नो पालो आउँदा पनि देउवालाई सीधै भेट्न चाहिँ पाउँदैनथे ।

एउटा ‘आइरन गेट’ पार गर्नुपर्थ्यो, र ‘आइरन गेट’ थिए यिनै आनन्द बतास । ‘देउवालाई जस्तोसुकै अप्ठ्यारोमा पनि सहयोग गरेका पार्टीका पुराना नेता कार्यकर्ताले उनलाई भेट्न आनन्दको अनुमति लिनुपर्ने भयो,’ कास्की काँग्रेसका एक पुराना नेताले भने, ‘हामीले यस्तो व्यवहार धेरै पटक भोगेका छौँ ।’

कतिसम्म भने ०७४ को राष्ट्रियसभा चुनावका बेला काँग्रेससित नजिक रहेका, तर सामाजिक काममा सक्रिय पाका केही पोखरेलीलाई आनन्द बतासको मोबाइलबाट म्यासेज पुगेको थियो–६० लाख दिए राष्ट्रियसभा सदस्य बनाइदिन्छु ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : ३१ बजे