साइबर अपराध

प्रधानमन्त्री विरुद्ध दुष्प्रचार गरेको आरोपमा मेडिकल माफिया दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल माफिया दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा सीआईबीको टोलीले प्रसाईंलाई भर्खरै पक्राउ गरेको हो । उनी भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

उनले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ओलीको लगानी रहेको भनेर ‘फेक डकुमेन्ट’ सहित सामाजिक सञ्जालमा दुष्प्रचार गरेका थिए ।

सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।  प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । उनीमाथि किर्तेमा पनि अनुसन्धान हुनसक्छ । उनी किर्ते र संगठित अपराध र मानहानीमा पनि तानिन सक्ने सीआईबी स्रोतले बतायाे । प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चलाइन लागिएको हो । एक व्यक्तिलाई एकैपटक एकभन्दा बढी मुद्दा चलाउने कानुनी सुविधा नभएका कारण एउटा मुद्दाको अनुसन्धानपछि अर्को मुद्दा चलाउनुपर्ने हुन्छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।

साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए।  ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो।

उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन भने बाँकी नै छ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ५३ बजे