सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

​​​​​​​खार्तुम । सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । 
 
सुडानका राजनीतिक दलहरुलाई शान्ति वार्ताको टेबलमा बसेर समस्याको समाधान निकाल्न पहल गरेको हो । यसका लागि सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पर्थस्ले सुडानका सबै दललाई वार्ताको टेबलमा बस्न आह्वान गर्दै संयुक्त राष्ट्रसंघले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको हो । 

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई समेटेर एक सर्वपक्षीय सम्मेलन गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले सुडानका सबै राजनीतिक दलहरु, आन्दोलनरत पक्ष, नागरिक समाज, सुरक्षा निकायका प्रमुखहरुलाई पनि सो वार्तामा बोलाइने उहाँले बताउनुभयो । 

साथै संयुक्त राष्ट्रसंघले यो समय हिंसा र आन्दोलन गर्ने समय नभएकाले सबै पक्ष मिलेर शान्तिपूर्ण रुपमा राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएको छ । यहाँका राजनीतिक दलहरुले सरकारका विरुद्धमा आन्दोलन गरेका छन् । सो आन्दोलनका कारण यहाँ केही दिनदेखि हिंसा जारी रहेको छ । 

यहाँका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । तर पनि राजनीतिक संकट भने हटेको छैन । अहिले पनि यहाँ दिनहुँजसो आन्दोलन जारी नै रहेको  छ । 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १ : २४ बजे