रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् । दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा समेत प्रहरीले लामिछाने र जोशीसँग बयान लिइसकेको छ । रुपन्देही अदालतले समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ११ बजे