भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबीच भएकोे झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छत्तीसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ । यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या २०० को हाराहारीमा पुगेको छ ।

सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेको बताउने नक्सलवादी आन्दोलन भनेर चिनिने विद्रोहमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

“सशस्त्र झडपमा पाँच माओवादी मारिएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी पी. सुन्दरराजले एएफपीसँग भन्नुभयो । मारिनेमा दुई जना महिला भएको उहाँले बताउनुभयो ।

काङ्केर र नारायणपुरको सिमानामा पर्ने क्षेत्रमा प्रहरीले शवबाट राइफल र गोलीगठ्ठा बरामद गरेको थियो ।

झडपमा परी दुई प्रहरी घाइते भएका छन् ।

भारत सरकारका गृहमन्त्री अमित शाहले यसैमहिना (सेप्टेम्बर) मा सन् २०२६ को सुरुसम्ममा विद्रोही परास्त हुने बताउनुभएको थियो ।

सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङबाट प्रेरित थिए।

उनीहरूले स्थानीय जनताका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्साको माग गर्दै धेरै दुर्गम समुदायहरूमा प्रवेश गरेका थिए ।

सन् २०१० मा ९६ जिल्लामा विद्रोह भएकोमा सन् २०२३ मा भारतले करिब ४५ जिल्लामा सीमित भएको दाबी गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ०५ बजे