‘एउटै नाउरको सिकार गर्न २३ लाख’

क्रान्तिकारी आन्दोलनमा संयुक्त मोर्चाको सवाल

(कम्युनिष्ट पार्टीमा ‘संयुक्त मोर्चा’का विषयमा अहिले पनि चर्चा चलिरहने गरेको पाइन्छ । यद्यपि, यो विषय पञ्चायती निरङ्कुशता विरोधी आन्दोलनको सन्दर्भमा अघि सारिएको थियो, तथापि, राजनीतिमा मोर्चाको विषय समय परिस्थिति अनुसार आवश्यक हुन्छ र यसको स्वरूपमा केही भिन्नता हुन सक्दछ । अहिले पनि अनेकौँ गठबन्धनलाई यस रूपमा परिभाषित गर्ने गरेको पनि देखिन्छ । अतः आन्दोलनमा मोर्चा र मोर्चाको महत्त्व र भूमिका के हो त भन्ने विषयमा स्पष्ट हुन यो सामग्री सहयोगी हुनेछ ।) 

निरङ्कुश राजतन्त्रले जनताका सबै राजनीतिक अधिकारहरू खोसेको छ र जनतालाई कुनै पनि आधारभूत अधिकार दिने पक्षमा छैन । अर्कोतिर त्यसले साम्राज्यवादसँग गठबन्धन गरी राष्ट्रलाई अर्धपराधीन बनाएको छ र त्यसको समेत समर्थन र सहयोग लिएर आफ्नो स्वेच्छाचारी शासन टिकाएको छ । यस्तो स्थितिलाई समाप्त पार्न र जनता र राष्ट्रलाई मुक्त बनाउन एक्लै हाम्रो क्रान्तिकारी शक्ति कमजोर छ । यसले हामीलाई आन्दोलनको पक्षमा सम्भव भएसम्म अधिकतम रूपमा बढी मित्रहरू खोज्नु अनिवार्य बनाएको छ ।

संयुक्त मोर्चा भनेको प्रमुख शत्रुलाई सकेसम्म बढी एक्लो पार्न तथा विभिन्न वर्ग, तह, पेसा र परिवेश भएका जनताहरू, तिनीहरूलाई प्रतिनिधित्व गर्ने सङ्गठनहरू र राजनीतिक शक्तिहरूलाई मूल शत्रु विरोधी आन्दोलनमा अधिकतम रूपमा एकताबद्ध पार्ने सवाल हो । संयुक्त मोर्चा क्रान्तिकारी आन्दोलनलाई सञ्चालन गर्ने र अघि बढाउने महत्त्वपूर्ण कला पनि हो । यसलाई आम रूपमा वर्गीय संयुक्त मोर्चा र राजनीतिक संयुक्त मोर्चाका रूपमा विश्लेषण गर्न सकिन्छ र विशेष स्थितिमा तिनीहरूभित्र पनि अनेक तह हुन सक्छन् । 

वामपन्थी मोर्चा 
​​​​​​​नेपालको कम्युनिष्ट आन्दोलन विभाजित छ । यसलाई अधिकतम रूपमा एकीकृत बनाउन दृढ प्रयत्न गर्नु प्रत्येक इमानदार कम्युनिस्टको महत्त्वपूर्ण कर्तव्य हो, तर कम्युनिस्ट समूहहरूको बीचमा सिद्धान्त, राजनीति र कार्यनीतिका सम्बन्धमा अनेकौँ मतभेद र विवादहरू छन् ।

यो विवाद र वैचारिक सङ्घर्ष आजसम्म धेरैजसो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अमूर्त सैद्धान्तिक विषयहरूमा केन्द्रित हुँदै आएको छ, तर अब त्यस्तो हुन दिनुहुँदैन । आफ्नो देशको क्रान्ति र निर्माणसँग तथा त्यससँग प्रत्यक्ष सरोकार राख्ने अन्तर्राष्ट्रिय विषयहरूमा ठोस ढङ्गले केन्द्रित गर्नुपर्छ । आफ्ना मान्यता, कार्यक्रम र नीतिहरूको आधारमा स्वतन्त्रतापूर्वक व्यवहारमा जाँदै वैचारिक सङ्घर्षलाई पनि स्वस्थ ढङ्गले सञ्चालित गर्नुपर्छ ।

यसबाट नै एकातिर सैद्धान्तिक मान्यता र नीतिहरूको सत्यताको परीक्षण हुन्छ भने अर्कातिर सच्चा कम्युनिष्टहरू को हुन् र को होइनन् भन्ने कुरा पनि छुट्टिन्छ । ठोस ढङ्गले सैद्धान्तिक विचारधारात्मक एकता पनि प्राप्त गर्न सकिन्छ । माक्र्सवाद—लेनिनवादको आधारमा सिद्धान्त र व्यवहारनिष्ठ एकताविना कम्युनिष्ट आन्दोलन एकीकृत हुन सक्दैन । 

एउटा देशमा एउटा मात्र कम्युनिस्ट पार्टी हुनसक्छ भन्ने मान्यतालाई कठमुल्लावादी ढङ्गले बुझ्दै तथा त्यसको आधारमा आफूलाई मात्र कम्युनिष्ट देख्ने र अरूलाई बलपूर्वक निषेध गर्ने दृष्टिकोणका कारणले गर्दा पनि आपसी सम्बन्धमा बढी शत्रुता, दूरता र तीतोपन रहँदै आएको हुनसक्छ । तर हाम्रो देशमा परिस्थितिले हामीलाई दशकौँ अघिदेखि अनेक बनाएको छ । यो यथार्थलाई स्वीकार गर्न सक्नुपर्छ ।

यदि यसलाई स्वीकार गर्ने, अनेक कम्युनिस्ट समूहहरूको अस्तित्वप्रति सहिष्णु हुने, आपसको सैद्धान्तिक सङ्घर्षलाई हटाउने र शत्रुवत् व्यवहारलाई बन्द गर्ने हो भने त्यसले कम्युनिस्ट आन्दोलनको एकीकरणमा बल पुर्‍याउँछ तथा कम्युनिस्टहरूको मात्र होइन, आमजनताको मनोविज्ञानमा पनि बेग्लै असर पार्न सक्छ । आपसमा निकटता र सहकार्यको वातावरण बन्दै जान सक्छ । एकातिर फुट र विभाजनवादी प्रवृत्तिको निन्दा गर्दै त्यसलाई हतोत्साहित गर्नुपर्छ, एकता र एकीकरणको पक्षमा बल दिनुपर्छ भने अर्कोतिर एकता र एकीकरणका निम्ति संकीर्णता, असहिष्णुता, शत्रुता र बलपूर्वक निषेध गर्न खोज्ने कार्यविधिको तीखो आलोचना पनि गर्नुपर्छ । एक—अर्काको अस्तित्व स्वीकार गर्ने, सहिष्णु हुने र सैद्धान्तिक विचारधारात्मक सङ्घर्षलाई स्वस्थ ढङ्गले व्यापक र गहिरो बनाउँदै सिद्धान्तनिष्ठ एकतामा पुगेर पार्टी र आन्दोलनलाई एकीकृत बनाउने प्रयत्न गर्नुपर्छ । एकता र एकीकरण नभई आन्दोलनमा जान नचाहने वा आन्दोलनमा एक्लै उत्रिनु परेपछि एकताको पक्षलाई बेवास्ता गर्दै दुवै प्रवृत्तिको खण्डन गर्नुपर्छ ।  

जबसम्म सङ्गठनात्मक रूपमा त्यस्तो एकता वा एकीकरण हुन सक्दैन, तबसम्म क्रान्ति र निर्माणका कुन कुन सवालमा कुन तहसम्म मिलेर काम गर्न सकिन्छ, त्यसका निम्ति मिलेर मोर्चा बनाएर एकताबद्ध ढङ्गले आन्दोलन गर्ने कार्यविधि अँगाल्नुपर्छ । यसरी वामपन्थी मोर्चा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने महत्त्वपूर्ण प्रक्रिया सिद्ध हुनसक्छ । 

वर्गीय संयुक्त मोर्चा
सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद, विस्तारवाद र साम्राज्यवादलाई नेपालबाट समूल नष्ट गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यक्रमको आधारमा प्रतिक्रियावादी राज्यसत्ताका कुनै पनि खाले रूपहरूलाई अन्त्य गरी सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्व भएको राज्यसत्ता स्थापना गर्नको निम्ति बनाइने मोर्चा वर्गीय मुक्ति मोर्चा हो ।

यस्तो मोर्चामा मजदुर, किसान एकताको आधारमा मजदुर, किसान तथा अन्य निम्न पुँजीपति वर्ग, मध्यम पुँजीपति वर्ग, देशभक्त र जनवादी तत्त्व समेत सामेल हुन सक्छन् । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति यस्तो वर्गीय मोर्चा मजदुर वर्ग र किसान बीचको सुदृढ एकतामा आधारित भएर मात्र टिक्न र बलियो हुन सक्छ भने अरू सबै खाले राजनीतिक मोर्चाहरूमा यस्तो वर्गीय मोर्चा सुदृढ भएको खण्डमा तथा त्यसको आधारमा मात्र कम्युनिस्ट पार्टीले प्रभावकारी निर्णायक भूमिका पनि खेल्न सक्छ । त्यस कारण वर्गीय संयुक्त मोर्चा निर्माण गर्नु संयुक्त मोर्चाको सवालमा हाम्रो कामको केन्द्रीय कडी हुन पुग्छ । 

हाम्रो पार्टीले देशभित्र र प्रवासमा समेत छरिएर रहेका नेपाली जनसमुदायभित्र स्वतन्त्र रूपमा क्रान्तिकारी काम गर्ने र त्यहाँ विभिन्न वर्ग, पेसा तह र जातिका सङ्गठनहरू तथा राजनीतिक र नागरिक अधिकारसम्बन्धी मोर्चा सङ्गठनहरू बनाउने दौरानमा पार्टीको पहल र नेतृत्वमा यस्तो मोर्चा विचारधारात्मक तहबाट निर्माण हुँदै आएको छ । यस कामलाई दृढतापूर्वक जारी राख्नुपर्छ र अझै व्यापक रूपमा विकास गर्दै जानुपर्छ । यी सबै फाँटमा फैलिएको कामलाई अहिलेसम्म स्वयं पार्टीले नै संयोजित गर्दै आएको छ । तर त्यो केवल राजनीतिक विचारधारात्मक तहसम्म मात्र संयोजित हुन सकेको छ र औपचारिक रूपमा कुनै संयुक्त मोर्चा सङ्गठन बनाइएको छैन । वर्ग सङ्घर्ष र राजनीतिक आन्दोलनलाई अघि बढाउनका निम्ति त्यस्ता जनसङ्गठन तथा मोर्चा सङ्गठनलाई अझै व्यवस्थित सुदृढ सक्षम र सम्बन्धित जनसमुदायभित्र व्यापक जन आधारित बनाउन विशेष प्रयत्न गरिरहनुपर्छ ।

त्यस्ता सङ्गठनहरू र आमजनसमुदायका क्रान्तिकारी गतिविधिलाई एकीकृत र संयोजित गर्नको निम्ति ती जनसङ्गठनहरू र मोर्चा सङ्गठनहरूको एउटा संयुक्त मोर्चा सङ्गठन पनि निर्माण  गर्नुपर्छ । यस्तो संयुक्त मोर्चा सङ्गठनलाई हाम्रो पार्टीले जति व्यापक र सुदृढ बनाउन सक्छ, त्यति नै त्यसले क्रान्तिकारी सङ्घर्षमा प्रभावकारी भूमिका खेल्न सक्छ र त्यस सङ्घर्षमा अन्य शक्तिहरूलाई पनि गोलबन्द गर्न र अघि बढाउन सक्छ । यसै प्रक्रियामा नै व्यापक संयुक्त मोर्चामा पार्टीको भूमिका अरू प्रभावकारी रूपमा स्थापित गर्न सकिनेछ । 

हाम्रो पार्टीले निर्माण गरेको त्यस्तो वर्गीय संयुक्त मोर्चाले एकातिर स्वतन्त्रतापूर्वक जनताको संयुक्त जनवादी आन्दोलनलाई नेतृत्व प्रदान गर्ने र अघि बढाउने काम गर्छ भने अर्कातिर नयाँ जनवादी क्रान्तिलाई नै आफ्नो लक्ष्य बनाएर सङ्घर्षमा लागिरहेका अरू राजनीतिक, सामाजिक र वर्गीय शक्तिहरू वा तिनीहरूले निर्माण गरेका संयुक्त मोर्चा सङ्गठनहरूसँग एकताबद्ध भएर जनवादी आन्दोलनलाई अझ व्यापकता दिने तथा नयाँ जनवाद प्राप्तिका निम्ति काम गर्ने मोर्चालाई अझ विस्तारित रूप प्रदान गर्ने प्रयत्न पनि गर्छ ।

नयाँ जनवादका निम्ति आन्दोलन गर्ने सम्पूर्ण क्रान्तिकारी जनवादी शक्तिलाई एकत्रित पार्नु र संयुक्त बनाउनु पनि अहिले उत्तिकै जरुरी ठानिने विषय नै हो । यस विषयमा पनि हाम्रो तर्फबाट पार्टी, मोर्चा र जनसङ्गठनहरूसँग पार्टी, मोर्चा जनसुगठनहरूद्वारा नै पहलकदमी लिनुपर्छ । (क्रमशः)

(मदन भण्डारी सङ्कलित रचनाहरू, भाग २)

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ९ : ३९ बजे