स्थानीय तह उपनिर्वाचन : वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय

कञ्चनपुर । यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भीमदत्त नगरपालिका–६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

नगरपालिकाको वडा नं ६ को रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी रहनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताउनुभयो । “मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको कार्य गरी रहेका छौँ”, उहाले भन्नुभयो, “जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ ।”

उहाँका अनुसार छ वटा मतदान केन्द्रमा मतदान अधिकृतसहित ३० जना कर्मचारीलाई खटाइने छन् । मतदान केन्द्रमै छ जना स्वयंसेवक राखिने भएका छन् । निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता रहेका छन । त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ रहेका छन् । सबै मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख जोशीको भनाइ छ ।

निर्वाचन कार्यतालिकाअनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचार प्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ । मङ्सिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ४४ बजे