राष्ट्रपति भवनमा घटस्थापना

एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन

दमौली । नेकपा (एमाले) तनहुँका अध्यक्ष पदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । 

शनिवार उम्मेदवारी दर्ताका क्रममा उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

यस अगाडि उपाध्यक्ष रहनुभएका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिनुभयो । 

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । 

उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ । 

आइतबार बिहान दाबी विरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिनुभयो ।

म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ ।

प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । 

खुलातर्फ १७ खुला र ९ महिला गरी २६  निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : १६ बजे