लुम्बिनीका सात जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

बुटवल । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । 

प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सात वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुङ्गिएको हो । 

दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्युठानमा आज नेतृत्व चयन हुनेछ ।

एमाले रुपन्देहीको नवौँ जिल्ला अधिवेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित  हुनुभएको छ । यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहनुभएका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक हुनुहुन्थ्यो । अध्यक्षमा दाबी गर्नुभएका पुरुषोत्तम घिमिरेले शनिवार राति अबेर केसीकै नाममा सहमति जनाउनुभएपछि नेतृत्व सर्वसम्मत टुङ्गिएको हो ।

त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिव द्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिनुभएको  छ। 

त्यसैगरी, नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 

उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन हुनुभएको छ । यसअघि उपाध्यक्ष रहनुभएका बस्नेत सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।  

त्यस्तै, एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन हुनुभएको छ । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी हुनुभएको छ । नवौँ जिल्ला अधिवेशनमा सहमति नजुटेपछि भएको निर्वाचनमा शर्मा २ सय ३८ मतसहित शर्मा विजयी हुनुभएको हो ।

मत परिणामको अन्तिम नतिजा अनुसार शर्माका निकटतम प्रतिद्वन्द्वी बाबुराम खनालले १ सय ८६ मत प्राप्त गर्नुभएको थियो अर्का उम्मेदवार नेत्रराज अधिकारीले एक सय मत प्राप्त गर्नुभयो ।

यस्तै, उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मतसहित निर्वाचित हुनुभयो। थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने थारुका प्रतिस्पर्धी हिरालाल पौडेलले १ सय ६६ मतमा ल्याउनुभयो ।

सचिव पदमा चन्द्र बहादुर गहतराज २ मतले निर्वाचित हुनुभएको छ । मत गणनामा विवाद भएपछि पुनः गणना भएको थियो । यस्तै ,अर्का प्रतिस्पर्धी भेषराज पाण्डेले १ सय ६३ मत ल्याउनुभयो।

उपसचिवमा अर्जुन केसी १ सय३१ मतसहित विजयी हुनुभयो उहाँका प्रतिस्पर्धी विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मतमा चित्त बुझाउनुभयो ।

त्यसैगरी, नेकपा एमाले अर्घाखाँचीको आठौँ अधिवेशनले पीताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उहाँ सर्वसम्मत अध्यक्ष हुनुभएको हो । 

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जिवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बनेको थियो ।

त्यस्तै, नेकपा एमाले बाँकेको आठौँ अधिवेशनबाट किस्मत कुमार कक्षपति अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका दाबेदार डिल्ली बि सी उपाध्यक्ष र अर्का अध्यक्ष पदका दाबेदार रत्न खत्री सचिवमा सर्वसम्मत चयन हुनुभएको हो ।

उपसचिवमा दीपक वर्मा र भुमिसरा धिताल चयन हुनुभएको छ ।  १ सय २० जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको एमाले बाँकेले जनाएको छ ।

नेकपा एमालेको बर्दिया जिल्ला कमिटी पनि सर्वसम्मत चयन भएको छ । जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्षमा निर्वाचित श्रेष्ठ जिल्लाको बढैयाताल गाउँपालिका अध्यक्ष पनि हुनुहुन्छ।

यस्तै, उपाध्यक्षमा सालिकराम अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । १ सय १६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन हुनुभएको छ  ।

नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्ला सदरमुकाम तम्घासमा भएको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले निर्विरोध हुनुभएको हो । 

शुक्रवार सुरु भएको जिल्ला अधिवेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरू पदमा धेरै प्रतिस्पर्धीहरूले उम्मेदवारी दिनुभएको छ  । अधिवेशनबाट आगामी तीन वर्षका लागि १सय ५ सदस्यीय जिल्ला समिति चयन हुनेछ । 

त्यस्तै, एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कार्की निर्वाचित हुनुभएको छ । राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २ सय३२ मत ल्याइ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी थानप्रसाद गैरेले १ सय ८५ मत ल्याउनुभयो । त्यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उप सचिव द्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित हुनुभएको छ  ।

एमालेको प्युठान जिल्लामा भने नेतृत्व चयन आज टुङ्गिने भएको छ । 

त्यस्तै, रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि मात्र अधिवेशन हुने छ भने रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले अधिवेशन स्थगित गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ५१ बजे