काठमाडौँ।मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ । उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गर्नुभएको थियो भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ । उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरोको थियो ।
यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । यस आश्रमले स्वयं आफ्नो लागि आफँै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ मानवहरू० हालसम्म १० हजार सात सय ६४ जनाको उद्धार गरिसकेको छ । तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनःस्थापना गरिसकेको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनःस्थापना गरिएको छ ।
मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एक हजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छ भने हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवद्र्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेशनकी अध्यक्ष डोल्मा बताउनुहन्छ ।
सरकारले आव २०८१/८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउनुहुन्छ ।
विसं २०६९ मा मकवानपुर, हेटौँडामा औपचारिक रूपमा स्थापना भएको मानवसेवा आश्रमले सातवटै प्रदेशका १९ जिल्लाका २५ सेवा केन्द्रहरुमार्फत बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथहरुको उद्दार गरी उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।
प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ३ : १२ बजे
प्रतिक्रिया