सांसद बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेकाे उजुरी

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड‍्डयनमन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले दलकै नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराउनुभएको छ । शृङ्खलवद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेले उजुरी दिनुभएको हो ।

मन्त्री पाण्डेको सचिवालयका अनुसार सांसद बजगाईले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै अनुशासनको कारवाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गरिएको हो । अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दर्ता भएको हो।

सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृंखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कुप्रचार गर्दै आएको बताउँदै मन्त्री पाण्डेले उनीमाथि कारवाहीको माग गर्नुभएको छ । मन्त्री पाण्डेले सांसद बजगाईंले अमर्यादित, अवाञ्छित अराजक तथा गैरकानुनी काम गरेकाले उनीमाथि अनुसन्धान गरी कारवाही गर्न माग गर्नुभएको छ । सांसद बजगाईंको उक्त कार्यले आफूलाई मात्रै नभइ सिंगो पार्टी र पार्टीको सिद्धान्तलाई समेत खलल पुर्‍याएको दावी उहाँको छ ।

उजुरीमा ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको उल्लेख छ ।

लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुने मन्त्री पाण्डेको उजुरीमा उल्लेख छ ।

‘मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित,अमर्यादित र गैर कानुनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ। उजुरीमा उल्लेख छ ।

‘म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु । नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफूलाई समर्पित गरिरहेको छु। मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको छ। प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानुनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु,’ उजुरीमा भनिएको छ

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। सोही आधारमा केही अनलाइनहरुमा समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लगाएकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरू सामाजिक सञ्जालबाट हटाएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १२ : ३९ बजे