‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चोक चोकमा आयुर्वेदिक  औषधि : विश्वसनीयता कति ?

काठमाडौँ । बाटोमा विक्री गर्न राखेको आयुर्वेदिक औषधि किन्दै गर्नुभएका धूलिखेलका रमेश थापाको खुट्टाको नसा च्यापिएको लामो समय भइसक्यो । लामो समयदेखि डाक्टरको सल्लाहअनुसार उपचार गर्दै आउनुभएका उहाँको स्वास्थ्य अवस्थामा भने खासै परिवर्तन आउन सकेन । उहाँको समस्या उस्तै रहेपछि उहाँले साथीको सल्लाहबमोजिम सडकमा विक्री गर्न राखिएका आयुर्वेदिक औषधि प्रयोग गर्ने निर्णय गर्नुभयो । आफू गाउँमा रहँदा गाउँकै जडीबुटीले निको हुने गरेको भन्दै उहाँ सुनाउनुहुन्छ, “यसको प्रयोगपछि निको हुन्छ भन्ने विश्वास राखेको छु ।”

काठमाडौँकी सीता माझीले पनि बाटोमा विक्री गर्न राखिएको आयुर्वेदिक औषधिको प्रयोग गर्न लागेको लामो समय भइसक्यो । त्यसो त पिनासको समस्याबाट ग्रसित उहाँले डाक्टरको सल्लाह बमोजिमको औषधि प्रयोग नगर्नुभएको होइन । तर सो औषधिले आफूलाई सन्चो नभएपछि सडकमा विक्री गर्न राखिएको औषधि प्रयोग गर्न थालेको उहाँ बताउनुहुन्छ । “पिनासको उपचार राम्रै अस्पतालमा गरेपनि पछि बल्झियो । एक दिन बाटो हिँड्दै गर्दा सडक किनारमा पिनासको आयुर्वेदिक औषधि बेच्न राखेको देखेँ,” उहाँ भन्नुहुन्छ, “सास रहुन्जेल आश भनेझैँ न निको पो हुन्छ कि भन्ने लागेर किनेर लगेँ । नियमित प्रयोग गर्न लागेपछि टाउको दुख्ने, नाकबाट रगत आउने लगायतका समस्या देखिएको छैन ।” 

त्यस्तै लुतोको समस्याबाट ग्रसित रामेछापका दिपक तामाङ चिकित्सकलाई देखाउन लाज लाग्ने कारण सडकमै बेच्न राखिएको आयुर्वेदिक औषधि किनेर प्रयोग गर्ने निर्णय गरेको बताउनुहुन्छ । तर प्रयोगपछि मात्र निको हुने नहुने थाहा पाउने उहाँले बताउनुभयो । 

के भन्छन् व्यवसायी ?

​​​​​​​२५ वर्षदेखि सडकमै आयुर्वेदिक औषधि विक्री गरेर जीविकोपार्जन गर्दै आउनुभएका जुम्लाका रङ्भिर बुढा गाउँमै उपलब्ध जडीबुटीबाट आफैँले औषधि तयार गर्ने गरेको बताउनुहुन्छ । उहाँले ढाड दुखेको, पिनास, खाना अपच भएको, खान मन नलाग्ने, रुघा, खोकी, ज्वरो, छाती, पोल्ने जस्ता औषधि बेच्दै आएको बताउनुभयो ।

उहाँका अनुसार आयुर्वेदिक औषधिको विक्रीबाट सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आउने गरेको छ । आयुर्वेदिक औषधिको प्रयोग गर्न सरकारको अनुमति नचाहिने उहाँको ठम्याइ छ । उहाँ भन्नुहुन्छ, “आजसम्म यसरी किन औषधि किन विक्री गरेको भनेर कसैले पनि भन्न आएको छैन ।”

आयुर्वेदिक औषधि विक्री गर्ने कसैले पनि औपचारिक शिक्षा समेत गरेको पाइँदैन । बुढा जस्तै बारामा ६५ वर्षीय पैसठ्ठी नथुन चौधरीले पनि सडक किनारामा बसेर आयुर्वेदिक औषधि विक्री गर्न लागेको धेरै भइसक्यो । आयुर्वेदिक औषधि बनाउन शिक्षाभन्दा अनुभव आवश्यक पर्ने उहाँ बताउनुहुन्छ । नेपालका प्रायः सबै जिल्लामा गएर आयुर्वेदिक औषधि विक्री गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, “यो मेरो खानदानी पेसा हो, मैले कुनै कक्षा पढेको छैन । तर पनि म कार्यअनुभवकै आधारमा सामान्य किसिमको सानातिनो डाक्टर भन्दा कम छैन ।” कतिपय रोगका बिरामीको सामान्य सर्जरी समेत गर्दै आएको उनको दाबी छ । 

सडक छेउमा विक्रीमा राखिएका औषधिको प्रयोग गर्नै हुँदैन : डा पाण्डे

कुनै पनि बिना शिलका औषधिले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डे बताउनुहुन्छ । भन्नुहुन्छ, “कुनै पनि औषधिको बट्टामा उत्पादन मिति र म्याद सकिने मिति राखिएको हुन्छ । साथै आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनीले त्यो कुरा उल्लेख गरेकै हुन्छन् ।” राम्रोसँग शिल नगरिएका र उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नभएका औषधिले मानव स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पार्ने उहाँको ठहर छ । 

सडकमा बेच्न राखिएका औषधिको विश्वसनीयता र प्रभावकारिता केही पनि नहुने उहाँले बताउनुभयो । विज्ञापनका भरमा झट्ट विश्वास गरेर त्यस्ता औषधिको प्रयोग गर्नै नहुने उहाँको बुझाइ छ । आयुर्वेदिक औषधि प्रयोग गर्नै परे आयुर्वेदिक चिकित्सकको सल्लाहबमोजिम मान्यताप्राप्त औषधि मात्र गर्नुपर्ने उहाँको सुझाव छ ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : ०७ बजे