साफ यू–१७ च्याम्पियनसिप आजदेखि

समन्याय मर्दैन रे (गजल)

सुन्छु तिमी भएको ठाउँमा रातै पर्दैन रे,
दुःख पीडा केही हुन्न आँसु झर्दैन रे !

खुट्टा तान्नेहरू हुन्नन्, काँडा छर्नेहरू हुन्नन्, 
हरेक पाइला छामी छामी सार्नु पर्दैन रे !

मेहनतको सम्मान हुन्छ, काम ठूलो सानो हुन्न,
आफ्नो नजरबाट आफैं कहिल्यै झर्नु पर्दैन रे !

कुरा काट्नेहरू हुन्नन्, स्वतन्त्रता खोसिँदैन,
आफन्त र साथी—संगी घात गर्दैनन् रे !

अवसरहरू समान हुन्छन्, भनसुन पनि चाहिँदैन,
दीन दुःखीहरू छिन छिन मर्न पर्दैन रे !

योग्यताको कदर हुन्छ, भेदभाव पनि हुँदैहुन्न,
समानताको नाममा समन्याय मर्दैन रे !

(लेखक वरिष्ठ प्रहरी उपरीक्षक हुनुहुन्छ ।)
 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ११ : ४५ बजे