आमा भन्नुहुन्थ्यो
मिर्मिरे मै उठ्नू, झ्याल ढोका खोल्नू
लिपपोत गरी घर पवित्र बनाउनू
त्यही बेला भगवान् धर्तीमा झर्छन्
प्राणी वनस्पतिमा अमृत छर्छन् र
प्रवेश गर्छन् गृहस्थीका घरहरूमा
आमा भन्नुहुन्थ्यो सबेरै उठ्नू
मिर्मिरेमै सकाउनू एकसरो दैनिकी
आस्था विश्वास भनूँ या दैनिकी
रहर भनूँ या बाध्यता
पहिलो पाठशाला
आदतमै थिए, कामकाजी सृजनशील
जे थियो दिनचर्या
रमाउँदै उज्यालोसँग
तर आज फेरिएको छ दैनिकी
तर्सिएको छु उज्यालोसँग
न चिहाउनु बिहानी अहँ खोल्दिनँ दिवारहरू
नसुनाऊ चिर्बिर भँगेरी खोल्दिनँ खिड्कीहरू
किन किन?? भित्र भित्रै तर्सिएको छु उज्यालोसँग
र फेरिएको छ दैनिकी
बोल्नै नपरे हुने कसैसँग,
जानै नपरे भिडभाड
बरु कहर काटेरै पनि किन्नै नपरे खरखजाना
बन्दमै रमाउँछु एकनाससँग
न आउनुको सङ्केत,
नजानुको निश्चितता
कालको अर्को नाम कोरोना,
न रूप, न रङ्गको कोभिड
तहसनहस विश्वको मानचित्रमा
सिङ्गो धर्ती काँप्ने गरी छताछुल्ल छन्
रहरहरू पोखिएका सपनाहरू
सुन्नै नपरे समाचार
असरल्ल मानव शरीर
देखेर पलपल मर्नुभन्दा
धेरै उत्कृष्ट बन्द कोठा
त्यसैले त धेरै दिन देखि बन्दछु अँध्यारोमा
तर्सिने भएको छु आफैसँग,
निकै दूर छु प्रियजनसँग
नछाउनू पूर्वमा लाली
केही समय अझै नआउनू
उज्यालो तर्सिएकी छु तिमीसँग
बन्द छु चार दिवारभित्र
फेरिएको छ दैनिकी !!
प्रकाशित मिति : २४ पुस २०७८, शनिबार ९ : २८ बजे
प्रतिक्रिया