तीन सय एकासी पेज पुस्तक पढ्न मलाई पुरै दुई दिन लाग्यो । सरदर दिनमा १३ घण्टासम्म पढेँ । पुस्तकका लेखक हुन्— रमेश रुछेन राई । राजनीति र विकासका स्वतन्त्र अध्येता उनको खास परिचय रहेछ । उनीद्वारा लिखित पुस्तकको नाम हो— श्वेत शार्दूल । मोतीराज अर्थात् मदन भण्डारीको छद्म नाम । मोतीराज मदन भण्डारीको न्वारनको नाम रहेछ । पार्टीमा क्रियाशील रहँदा मदन भण्डारीका दर्जन बढी छद्म नाम रहेछन् ।
पुस्तक प्रकाशन भए लगतै साथी माधवकुमार पौडेलसँग सापटी लिएको थिएँ । पढ्ने, पढ्ने भन्दाभन्दै समय चिप्लेको हेक्कै भएन । पौष महिनाको तेस्रो सातातिर बुटवलमा पानी प¥यो । चिसो बढ्यो ह्वात्तै । सिरक साथी बन्यो मेरो । सिरक ओढेर तातोपानीसँगै श्वेत शार्दूललाई खर्लप्पै पिएँ ।
चालिसा लागेपछि किताबका साना अक्षर रातका समयमा पढ्नै मुस्किल । चस्माको सहारामा यो किताब पढ्नुको मज्जा बेग्लै हुँदो रहेछ । आफूलाई त किताबमा हाइलाइट पेनले धर्सो नतानी आनन्द नआउने । साथीको सापटी किताब । अन्योलमा परेँ । जेसुकै होस्, साथीलाई नयाँ किताब नयाँ किनेर दिन्छु भन्ठानेर रातो हाईलाइट पेन मन परेका अनुच्छेदहरूमा दौडाएँ ।
मदन भण्डारीका बारेमा धेरैलाई थाहा छ तर अधकल्चो । जानेको कुरा कम बुझिएको पनि हुन सक्छ भन्ने कुरो यही किताब पढेपछि हेक्का भयो मलाई । मदन भण्डारीका बारेमा अनिल पौडेलको सम्पादकत्वमा प्रकाशित मदन भण्डारी स्मृति ग्रन्थ भाग—एक पढ्ने अवसर मिलेको थियो । बजारमा भाग दुई समेत आइसकेको छ । यी सङ्ग्रहहरूले पक्कै पनि मदन भण्डारीको जीवनीलाई सार्थक तुल्याउन सक्नेछन् ।
श्वेत शार्दूलका बारेमा लेख्ने राईले मदनको जीवनीलाई सजिलै बुझ्न सकिने र तथ्यगत प्रमाणसहित पेस गरेका छन् । मनोगत वा काल्पनिक कथालाई उनेर यो पुस्तक लेखिएको छैन भन्ने कुरा पुस्तकमा समावेश गरिएका सन्दर्भ सामग्री र अन्तर्वार्ताले जनाउँदछ ।
मदनका विद्यार्थीकालीन साथी, पार्टीमा रहँदाका कमरेडहरू र उनका घरपरिवारसँग बसेर गरिएका कुराकानीले यो पुस्तकलाई ओजिलो र विश्वसनीय बनाएको छ । पुस्तकमा विविधता भेट्न सकिन्छ । पुस्तक पढिरहँदा कहिले उनको जीवनी, कहिले पार्टीको ऐतिहासिक दस्ताबेज, कहिले पार्टीका नीति, निर्णय एवं दूरगामी प्रभाव र असरका सन्दर्भमा जानकारी प्राप्त भएझैँ लाग्दछन् ।
पुस्तकमा मदनले पार्टीमा राखेका विषयवस्तु, कतिपय उनका विद्यार्थीकालीन कविताहरू, घरपरिवारको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था र समयले उनलाई दिएको महत्त्व र संसारले हेर्ने दृष्टिकोण बारेमा प्रशस्तै पढ्न सकिन्छ । यति मात्र होइन भूमिगतकालीन पार्टी पद्धति, प्रक्रिया र परिचालनका कुराहरू सजिलै बुझ्न सकिन्छ । पञ्चायतकालीन हर्कत, यसले राजनीतिक नेता तथा कार्यकर्ताहरूमा पारेका असर र व्यवस्थाका विरुद्धमा ज्वालामुखी बनेर हिँडेका तत्कालीन नेताहरूका बारेमा सर्लक्कै बुझ्न सकिन्छ ।
भूमिगतकालीन गोपनीयता, छद्म नाम र पार्टीका सूचनाहरू सम्प्रेषण गर्ने तौरतरिकाका सम्बन्धमा मिहिन तरिकाले बुझ्न पुस्तक पढेपछि सकिन्छ । पुस्तकमा लेखकले लेखेका छन्– उति बेला व्यक्ति भूमिगत, विचार खुल्ला । सङ्गठन भूमिगत, गतिविधि खुल्ला । निर्णय भूमिगत, कार्यान्वयन खुल्ला । यी कुराबाटै तत्कालीन राजनीतिक परिवेशको अध्ययन र मूल्याङ्कन गर्न सकिन्छ ।
प्रहरीहरूलाई छक्काएको, दुस्मनहरूबाट बालाबाल बचेको र जनताका घरदैलामा पुगेर भूमिगत बस्दाको स्नेह, प्रेम, सद्भाव आज कहाँ पुग्यो होला ? एक पटक तिनै नेताहरूसँग बुझ्न राईले अर्को पुस्तक लेख्नुपर्नेछ । राज्यको सेवा सुविधा पाएपछि वा राजकीय सुविधा प्राप्त गरेपछि हिजोका नेताहरू आज किन आफ्नै सेल्टरदाता चिन्दैनन् ? सेल्टर बसेको गाउँ, ठाउँ भुल्छन् भन्ने कुरा त मङ्सिर तेस्रो सातातिर डा.बिन्दा पाण्डेसँग रुपन्देहीको सियारी गाउँपालिकाको सीतापुर पुग्दा त्यहाँ भेटिएका पुराना कम्युनिष्ट कार्यकर्ताहरूले नेताहरू बामदेव गौतम, विष्णु पौडेल, मोदनाथ प्रश्रित, शान्ता मानवीप्रति गरेका गुनासोले छर्लङ्गै पार्छ ।
श्वेत शार्दूल पुस्तकमा नेपाली कम्युनिष्ट आन्दोलन, यसको इतिहास र एकता, विग्रहका कुराहरू छरपस्टै पाइन्छन् । नेताहरूका अन्तरकलह, अन्तर द्वन्द्वले कहाँसम्म स्थान पाएको छ भन्ने कुरा जान्न यही पुस्तक काफी हुन्छ । नेकपा माले गठन, सोभन्दा अघिको कम्युनिष्ट आन्दोलन, पञ्चायत फाल्नका लागि नेपाली काङ्ग्रेस सँगको कार्यगत एकता र नेपालमा बहुदलीय प्रजातन्त्र ल्याउन खेलिएका भूमिकाका बारेमा जान्न थुप्रै सूचनाहरू यही पुस्तकमा पाइन्छन् । नेकपा एमाले एकीकरणका अवस्थाका बारेमा मनग्य जानकारीहरू समावेश छन् ।
भूमिगतकालीन सामाजिक एवं सांस्कृतिक परिवेश बुझ्न यो पुस्तक ऐतिहासिक दस्ताबेजका रूपमा प्रयोग गर्न सकिन्छ । मदन भण्डारी र विद्या पाण्डेका बीचको बिहे, उनका परिवारहरूले स्वीकार गर्न अन्कनाएका जातीय परिवेश, समाज बदल्नका लागि उनीहरूले खेलेको तत्कालीन अवस्थाका सन्दर्भमा पुस्तकले मुखै फोरेर बोलेको छ ।
पुस्तकमा ससाना किस्साहरू, कथाहरू, पटकथाहरू मज्जाले बुनिएका छन् । लेखकले अक्षर सलल बगाएका छन् । किताबमा उल्लेख गरिएका दार्शनिक विचारहरूलाई बुझ्ने तरिकाले बयान गरिएका छन् । मदन भण्डारीको जीवनी भएता पनि सिङ्गो देशको बारेमा लेखिएको किताब हो भन्न मन लागेको छ । मदनसँग जोडिएका विषय प्रसङ्गले देशको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, पुरातात्त्विक, पर्यटकीय प्रसङ्गहरूलाई उठान गरेका छन् ।
मदनका बारेमा बताइरहँदा त्यहाँका भौगोलिक वर्णनसँग सामाजिक परिवेश र आर्थिक पक्षलाई झल्काउने गरी लेखकले आफ्नो कलम दौडाइरहेका छन् । लाग्छ, उनी पथप्रदर्शक हुन् । आफ्ना यात्रीहरूलाई आफ्नै सुन्दर यात्राको गतिलो बयान गरिरहेका छन् ।
पुस्तकमा उल्लेख भएका तिथि मितिले पुस्तकको सुन्दरता झल्किएको छ । पुस्तकमा शब्द चयन,वाक्य संरचना,लयात्मक भाषा शैलीले पुस्तक एक पटक पढौँ भन्ने लाग्दछ । पुस्तक पढिसकेपछि लेखक साँचिक्कै अन्वेषक हुन् । अध्येयता हुन् । अक्षरका माली हुन् जस्तै लाग्छ ।
कुनै पनि पार्टीका कार्यकर्ताहरूमा अचेल आफ्नो पार्टीका सिद्धान्त, कार्यदिशा, कार्यनीति, कार्यक्रमका बारेमा पढ्ने,जान्ने र मनन गर्ने संस्कार, पद्धति कमजोर हुँदै गएका छन् । पार्टीका नेताहरूको गुलामी गर्ने, ज्यू—हजुरी गर्ने, पैसा, पावर र पपुलारिटीका निम्ति राजनीति गर्ने चलन हाबी हुँदै गएपछि नेपाली राजनीतिमा यस्ता पुस्तकहरू कमै प्रकाशन हुने, भए पनि नपढिने, पढे पनि प्रचार—प्रसार नगर्ने प्रचलन व्यापक भएर गएको छ भन्दा मलाई कुनै दुःख लाएको छैन ।
राजनीति भनेकै अध्ययन, अवलोकन र व्यवहारको प्रयोगात्मक संयुक्त थलो हो । पढेका सिद्धान्त, विचारहरूलाई व्यवहारमा प्रयोग गर्ने कर्म नै राजनीति हो । मदन भण्डारीले आफ्नो ४१ वर्षीय जीवनमा राजनीतिलाई धेरै समय दिएको पाइन्छ । सानै उमेरमा मदनले राजनीतिका कारण आफूलाई अब्बल बनाएका थिए भन्ने कुराको यथेष्ट प्रमाण श्वेत शार्दूल पुस्तकमा लेखकले प्रमाणित गर्न खोजेका छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै एमालेको मूल मन्त्र भएको छ भन्ने कुरा लेखकले सारगर्भित तरिकाले बयान गरेका छन् । त्यो विषयमा आफ्नो दलिलहरू पेस गरेका छन् । मदन भण्डारी नेकपा एमालेले घोषित गरेको जननेता नै हुन् भन्ने अनेक तर्क र प्रमाणहरू जुटाएका छन् ।
लेखकले सरल र मिठासपूर्ण भाषामा यो पुस्तक लेखेर धेरै पाठकहरू कमाउने छन् । राईको लेखन यात्रामा कहीँ कतै ठेस नलागोस् ।
(लेखक बुटवल उपमहानगरपालिकाको ‘भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान’का सचिव हुनुहुन्छ ।)
प्रकाशित मिति : २४ पुस २०७८, शनिबार ८ : ५४ बजे
प्रतिक्रिया