दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गृहमन्त्रीको निर्देशनमा मध्यरातमा मतदाता नामावली सङ्कलन, एमालेले गर्‍यो प्रशासनमा तालाबन्दी

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली सङ्कलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले) ले तालाबन्दी गरेको छ । 

बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रवार राति साढे १० बजेतिर फोटो सहितको मतदाता नामावली सङ्कलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति १ः०० बजेतिर ताला लगाएका हुन् ।

एमाले निकट एक कर्मचारीले दिएको सूचनाका आधारमा एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा  गएको टोलीले ताला लगाएको हो । त्यस क्रममा केही बेर तनाव उत्पन्न भएको थियो । 

बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरू भित्रै थुनिएका थिए । सुरक्षाकर्मीको उपस्थितिमा नामावली सङ्कलन भएको र उक्त काममा गृह मन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताउनुभयो ।

“केही दिनअघि गृहमन्त्रीले फोन गरेर राति भए पनि नामावली सङ्कलन गर्न र काँग्रेस समर्थक मतदाता र काराकर्तालाई नामावलीमा नछुटाउन निर्देशन दिनुभएको थियो, सोही अनुसार हामीले नामावली सङ्कलन गरेका हौँ”, ती कर्मचारीले भन्नुभयो ।

मतदाता नामावली सङ्कलन गर्ने क्रममा नेपाली काँग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए । 

एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ । करिब एक घण्टा तनावपूर्ण स्थिति देखिएपछि मध्यरातसम्म नामावली सङ्कलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठा बन्द गरिएको छ । 

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने इलाका प्रशासन कार्यालयको मतदाता सङ्कलन केन्द्र शुक्रवार भने सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो ।

एमाले युवा नेता यमराज पाण्डेले प्रहरी निगरानीमै नियम विपरीत मध्यरातमा नामावली भराउने काम भएको र यो सत्ताको चरम दुरुपयोग भएको बताउनुभयो। तालाबन्दीपछि मतदाता नामावलीमा नाम दर्ताका लागि आएका करिब १५० भन्दा बढीलाई घर फर्काइएको थियो ।

नियन्त्रणमा लिइएका कागजात लगायतका सामग्री कार्यालयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरूको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्ने सहमति भएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : १८ बजे