राष्ट्रपति भवनमा घटस्थापना

एकै दिन ओलीको तीन सम्बोधन- चुनावपछि एमालेले बहुमतकाे सरकार बनाउने

काठमाडौं – नेकपा एमालेको शुक्रबारबाट जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुग्नुभएको थियो । 

करिब चार घण्टामा तीनवटा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुन र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाउनुभएको छ । 

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो । 

तीनवटै सम्बोधनमा अध्यक्ष ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताउनुभयो । 

‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँले भन्नुभयो, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’ आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । 

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाउनुभयो । 

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उहाँले सरकार जनताको पक्षमा नरहेको बताउनुभयो । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार बन्यो संसदले समेत थाहा पाएन ।’ 

सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति उहाँले खरो टिप्पणी गर्नुभयो । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको बताउनु भएका ओलीले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभयो । 

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभयो । गठबन्धन र नेकपा (एकीकृत समाजवादी)प्रति खरो टिप्पणी गर्नुभएका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिनुभयो । 

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गर्दै उहाँले एकातिर अरु पार्टी र अर्काेतिर एमाले राख्दा पनि एमाले शक्तिशाली रहेको बताउनुभयो । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : ४२ बजे