रविलाई भोलि काठमाडौं ल्याइने

दीपक मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौँ । पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको हो ।

सर्वोच्चको आदेशपछि सम्पर्कमा नरहेका मनाङे काठमाडौँको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबाट आज बिहान पक्राउ परेका थिए । 

गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको थियो ।

उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए । २०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ (मिलन गुरूङ) को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा उनी दोषी ठहर भएका थिए ।

मनाङेले यस मुद्दामा यसअघि नै २ वर्ष आठ महिना कैद भुक्तान गरिसकेकाले अब करिब २ वर्ष ४ महिना जेल बस्नुपर्ने भएको छ । 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : ११ बजे