एमालेको जागरणसभा LIVE

महिला साथीकोमा ब्रेकफास्ट गर्दै गर्दा समातिएका थिए मनाङे, भाग्नका लागि मोटरसाइकल थियो ‘रेडी’

File photo

काठमाडौं । आफ्नो पुरानो महिला साथीको घरमा तीन दिनदेखि लुकेर बस्दै आएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहानी खाजा (ब्रेकफास्ट) खाँदै गर्दा समातिन पुगे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोली मङ्गलवार बिहान स्वयम्भू, सानोभर्‍याङस्थित कम्फोर्ट हाउजिङ पुग्दा उनी ब्रेकफास्ट खाइरहेका थिए ।

सादा पोशाकमा पुगेको प्रहरी टोलीले आफ्नो परिचय दिएपछि मनाङेले आफू आत्मसमर्पण गर्न जानै लागेको भन्दै उक्त मौका दिन अनुरोध गरेका थिए। प्रहरीले उनको प्रस्ताव अस्वीकार गरेपछि उनी पक्राउ परेका हुन् ।

कम्फोर्ट हाउजिङमा फ्ल्याट भाडामा लिई बस्ने एक महिलाको घरमा मनाङेले तीनदिनदेखि आश्रय लिएका थिए । आश्रयदाता महिला मनाङेकी पुरानो साथी भएको प्रहरीले बताएको छ ।

प्रहरीले मनाङेले विभिन्न नम्बरबाट निकटस्थसँग गरेको कुराकानीका आधारमा केही मोबाइल नम्बर सङ्कलन गरेको थियो । त्यस आधारमा कल डिटेल्स (सिडिआर) को अध्ययन गरी खोजी हुँदासमेत उनी भेटिन सकेका थिएनन् ।

प्रहरीका अनुसार नयाँबजार, म्हेपीस्थित घरबाट लुगाफाटो लिएर जाने व्यक्तिको दुई दिनदेखि रेकी (निगरानी) गरिँदा उनी कम्फोर्ट हाउजिङमा लुकेको कुरा पत्ता लगेको हो । प्रहरीले उनको लोकेशन सोमबार राति नै अपडेट गरेको थियो । विहान त्यही लोकेशनमा प्रहरी पुग्दा उनी भेटिएका हुन् ।

प्रहरी स्रोतका अनुसार प्रहरीको टोली पाँच मिनेट ढिलो मात्र पुगेको भए उनी त्यहाँ नभेटिने स्थिति थियो ।प्रहरकिा अनुसार उनले ब्रेकफास्ट पनि आधाभन्दा बढी खाइसकेका थिए । खाए लगत्तै अन्यत्र जानका लागि उनले एउटा मोटरसाइकल तयारी अवस्थामा राखेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : ५७ बजे