रामगोपालपुरमा चुनावी चहलपहल

दीपक मनाङ्गे काठमाडौंबाट पक्राउ

पोखरा ।  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरोमा ल्याए पछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।ज्यान मुद्दामा मनाङे २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो ।  उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो । त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।  

मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो ।  

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि २०६१ सालमा आक्रमण गरेको थियो ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले १० वर्षभन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेरै मुद्दा लड्न पाउने व्यवस्था गरेकाले सर्वोच्चले मनाङेलाई थुना बाहिरै बसेर मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्ने आदेश दिएको थियो । अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्नेछ । 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ०५ बजे