लुम्बिनीको राजधानी निर्माणका लागि संघीय सरकारले दियो एक अर्ब

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराएको छ । 

दाङको देउखुरीमा स्थायी राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय सरकारबाट एक अर्ब प्राप्त भएको जानकारी दिनुभयो ।

राजधानी निर्माणका लागि प्रदेशको बजेट मात्र अपुग भएकाले संघीय सरकारसँग छलफल गरी बजेट निकाल्न सफल भएको मुख्यमन्त्री केसीले बताउनुभयो । मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गर्नुभयो । 

यो रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने केसीले बताउनुभएको छ । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : २७ बजे